मुगु । मुगुको सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सिंह राज डाँगीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शाखा अधिकृतमा कार्यरत सिंह राज डाँगीलाई जिम्मेवारी दिएको हो ।
आर्थिक वर्षको अन्तिममा गाउँपालिकामा सातौँ तहमा कार्यरत अनुप श्रेष्ठलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । तर उनले आफुले काम गर्न नसक्ने भन्दै गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीसमक्ष राजिनामा बुझाएका थिए । अध्यक्ष शाही राजिनामा स्वीकृत नगरी उपाध्यक्ष केशर बहादुर शाही सहित प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाको लागि गत असार २ गते काठमाडौँ गएका थिए ।
यो सँगै आज असार ५ गते बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शाखा अधिकृतमा कार्यरत सिंह राज डाँगीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित खटाएको हो ।
केही समय गाउँपलिका अधिकृत बिहिन भएपनि अबको १, २ दिनबाट रफ्तारमा काम हुने र आफ्ना भूक्तानीका लागि तयार भएर बस्न अध्यक्ष शाहीले स्थानीयहरुलाई अनुरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई लिएर हामी काठमाडौँबाट भोलि हिड्छौँ । पर्सि गमगढीमा खाता सञ्चालन गरेर पछिल्लो दिन गाउँपालिका पुग्छौँ । त्यस लगत्तै काम एकदमै रफ्तारमा जान्छ । त्यही अनुसार सबै स्थानीय, कर्मचारी, जनप्रतिनिधि तयार अवस्थामा रहनुहोला । जनता मिडियासँग उनले भने ।
जिम्मेवारी बहन गर्न नसक्ने भन्दै अनुप श्रेष्ठले गाउँपालिका अध्यक्षसमक्ष राजिनामा लिए लगत्तै अध्यक्ष धर्म बहादुर शाही र उपाध्यक्ष केशर बहादुर शाही काठमाडौँ हिँडेका थिए । यस लगत्तै केही व्यक्ति र समुहले अध्यक्षका कारण गाउँपालिका अस्तव्यस्त बनेको आरोप लगाएका थिए ।
