हुम्लामा पनि ट्राफिक प्रहरी खटिए


कालिबहादुर थापा हुम्ला
दुर्गम हिमाली जिल्ला हुम्लामा पनि मङ्गलबार देखि ट्रााफिक प्रहरी खटिने भएका छन् । देशका ७७ वटा जिल्ला मध्ये राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम जिल्ला हुम्लामा पनि पहिलो पटक ट्राफिक प्रहरी पुगेकाे छ ।

सडक सञ्जालसँग नजोडिदै बोलेरो, ट्रिपर, ट्रयाक्टर लगायतका सवारीसाधनको दुर्घटनामा परि १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हाे ।

एक जना असईको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । कार्यालयका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत गरेको र केही दिन भित्रमा ट्राफिक कार्यालय समेत स्थापना हुने जनाएको छ ।

जिल्ला भित्रका विभिन्न क्षेत्रमा चल्ने सवारीसाधनहरु दुर्घटनामा परि ज्यान गुमाउनेको क्रम बढेपछि ट्राफिक प्रहरीको आवश्यकता परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बजारमा कार्यालयको लागि भाडामा भवन खोजेको र नपाउँदासम्म जिल्ला प्रहरी कार्यालयभित्रै छुट्टै कार्यालय स्थापना हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरले बताए । दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन लागेको उनले बताए ।

प्रकाशित मितिः     १५ पुष २०७६, मंगलवार १९:४१  |