अन्ततः पारीत भएरै छाड्यो सूचना तथा प्रविधिसम्बन्धी विधेयक , सामाजिक सञ्जाल दर्ता गरेरमात्रै चलाउन पाइने


काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित गरेको छ । आइतबारको समिति बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच विधेयक बहुमतबाट पारित गरेको हो ।

विधेयकमा फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाल दर्ता गरेरमात्रै चलाउन पाइने प्रावधान समेटिएको छ । यस्तै सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान समेत राखिएको छ । विधेयक संसदले पारित गरेपछि लागू हुनेछ । समिति सभापति कल्याणी खड्काले विधेयक नियमावलीअनुसार पारित भएको बताइन् ।

सभापति खड्काले विधिसम्मत रुपमा विधेयक पारित भएको हुँदा अन्य अर्थ नलगाउन उनले कांग्रेस सांसदहरुलाई आग्रह गरिन् । कांग्रेस सांसद बहादुरसिंह लामाले पारित भएको सूचना प्रविधि विधेयकले नागरिकको स्वतन्त्रतामाथि हनन गर्ने, नागरिकको मौलिक हक अधिकार कुण्ठित हुने र संविधानको मर्म विपरित हुने भन्दै फरक मत राखे । सांसद रामबहादुर विष्टले नागरिकको हक अधिकारको रक्षा गर्नेगरी विधेयक ल्याउँदा सबैलाई फाइदा हुने भनेर व्यापक छलफल गरिएपनि बेफाइदा हुनेगरी अगाडि बढ्नुको औचित्य नभएको बताए ।

नेकपा सांसद टोप बहादुर रायमाझीले अनिर्णयको बन्दी बनाउनुभन्दा प्रकृयामा लगेर भएपनि विधेयक पारित गर्नुपर्ने धारणा राखेका थिए । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधानमा आफ्नो असहमति जनाएको थियो ।

प्रकाशित मितिः     १३ पुष २०७६, आईतवार २०:०३  |