एकैदिन किन पक्राउ परे १२२ चिनियाँ नागरिक ? चीनले देखायो चासो


काठमाडौं । काठमाडौं १२२ चिनियाँ पक्राउ परेपछि चीनले त्यसबारे चासो व्यक्त गरेको छ । आफ्ना नागरिक एकैदिन सयौंको संख्यामा पक्राउ परेपछि त्यसको कारणबारे चासो व्यक्त गरेको हो ।

‘‘हामीले काठमाडौंस्थित चिनियाँ दूतावासलाई १२२ जना पक्राउबारे औपचारिक जानकारी गराएपछि उनीहरूले के–कति कारणले पक्राउ परेका हुन् ? कस्ता–कस्ता अपराधको आशंका छ ? भन्दै चासो देखाउनुभयो,’’ नेपाल प्रहरीका एक अधिकारीले भने ।

नेपालमा यति ठूलो संख्यामा, त्यसमा पनि एकै देशका नागरिक पक्राउ परेको यो पहिलो घटना हो । पछिल्लो समयमा नेपालमा हुने आर्थिक अपराधमा चिनियाँ संलग्नता बढ्दै गएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय प्रहरी परिसर, काठमाडौं र महानगरीय अपराध महाशाखा टेकुको संयुक्त टोलीले सोमबार मनमैजु, बाँसवारी, बूढानीलकण्ठ क्षेत्रबाट १२२ चिनियाँ पक्राउ गरेको थियो । पक्राउ पर्नेमा ८ महिला पनि छन् ।

गैरकानुनी रूपमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामदत्त जोशीले बताए  । उनले भने, ‘‘पक्राउ परेकाहरू फरक–फरक समूहका छन् । ठूलो संख्यामा भएकाले कसको अपराध के–हो अहिले भन्न सकिने अवस्था छैन । अनुसन्धान जारी छ ।’’

पक्राउ परेकामाथि परिसर काठमाडौंले मुद्दा चलाउनेछ । एसएसपी उत्तमराज सुवेदीले नेपाली कानुनकै परिधिभित्रै रहेर मुद्दा प्रक्रिया सुरु भइसकेको बताए । पक्राउ परेका चिनियाँ लामो समयदेखि अपार्टमेन्ट र होटलमा बस्दै आएका थिए । उनीहरू फरक–फरक समयमा नेपाल आएको र कतिपयको राहदानीसमेत नभेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, मोबाइल र सिम बरामद गरेको छ । बरामद सामग्रीको अनुसन्धानपछि उनीहरू कस्तो अपराधमा संलग्न रहेको खुल्नेछ ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:१९  |