चितवन पीपीएलको फाइनलमा


पोखरा । बाबर हायात र रोहन मुस्तफाको अर्धशतकको सहयोगमा चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा चितवनले काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पोखरा रंगशालमा भएको खेलमा चितवनले काठमाडौंलाई जितका लागि दिएको १६८ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०७ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ४० रनको योगदान गरे । ३९ बल खेलेका उनले ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाउँन सफल भएका हुन् ।

त्यस्तै पवन शरार्फले २७ रन बनाउँदा पृथु बास्कोटाले १८ रनको योगदान गरे ।

बलिङतर्फ चितनवका लागि सन्नी पटेलले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रोहन मुस्तफाले दुई विकेट लिँदा कप्तान पारस खड्का, रामनरेश गिरी, करण केसी र भुवन कार्कीले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनाएको हो । चितवनका लागि बाबर हायात र रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । ४७ बल खेलेका बाबरले ३ चौका र ६ छक्काको सहयोगमा ७० रन बनाए । बाबरलाई १५ ओभरको दोस्रो बलमा बसन्त रेग्मीले बोल्ड आउट गराएका थिए । त्यस्तै ५२ बल खेलका मुस्तफाले ६ चौका र १ छक्काको सहयोगमा ५९ रनको योगदान गरे ।

चितवनले पहिलो विकेटकको रुपमा करण केसीलाई गुमायो । उनी दोस्रो ओभरको चौथो बलमा १ रन बनाएर क्याच आउट भएका हुन् । चितवनले १८ ओभरको दोस्रो बलमा आफ्नो तेस्रो विकेट गुमायो । आरिफ शेख १५ रन बनाएर आउट भए । उनी अमर राउटेलाको बालमा गौरव तोमरको हातबाट क्याच आउट भएका हुन् ।
जितसँगै चितवनले फाइनलमा यात्रा तय गरेको छ । पाँच खेल खेलेको चितवनले १० अंक सहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । दोस्रो स्थनमा रहेको बुटवलको ६ अंक छ भने तेस्रो स्थानमा रहेको काठमाडौंको ४ अंक छ । काठमाडौंले अब प्लेअफको सम्भावनालाई जिवित राख्न विराटनगर र बुटवल बलास्टर्सको खेल कुर्नु पर्ने हुन्छ ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:२०  |