परदेशमा नामी खेलाडी स्वदेशमै ओझेलमा


जनकपुर । नेपालका सञ्जय श्रेष्ठ र लालमोहर यादवलाई भारतमा भर्खरै सम्पन्न भएको प्रो कबड्डी लिगको सिजन ७ का लागि बेंगलोरस्थित बेंगलुरु बुल्सले जनही १०–१० लाख भारुमा अनुबन्ध गरेको थियो ।

धनुषाका सञ्जय स्वतन्त्र खेलाडी हुन् भने सिरहाका लालमोहर त्रिभुवन आर्मीका लागि खेल्छन् ।

सन् २०१४ मा भारतको जयपुरमा भएको पहिलो सिजनदेखि नै सञ्जय निरन्तर आर्थिक लाभ लिएर विभिन्न क्लबका तर्फबाट खेल्दै आएका हुन् ।

सिजन १ देखि ३ सम्म लगातार बर्सेनि २ लाख (भारु) को दरले पाए ।

सिजन ४ र ५ मा बेंगलुरु बुल्सले उनलाई क्रमशः ५ र ८ लाख दिएर आफ्ना तर्फबाट खेलिदिन सम्झौता गर्‍यो ।

सिजन ६ का लागि पुनास्थित पुनेरी पल्टनले ८ लाख तिरेर टिममा सहभागी गरायो । सिजन ७ का लागि पुनः बेंगलुरु बुल्समै फर्किए ।

सञ्जयसँगै सिजन ६ मा पुनेरी पल्टनका लागि ८ लाख (भारु) लिएर खेलेका लालमोहर सिजन ७ मा पनि उनीसँगै १० लाख लिएर बेंगलुरु बुल्समा छनोट भए ।

सञ्जय र लालमोहर दुवै प्रदेश २ निवासी हुन् । उनीहरूको प्रभावबाट धनुषा, सिरहा, सप्तरीलगायत जिल्लामा नयाँ पुस्ताका कबड्डी खेलाडीमा प्रेरणा प्रदान भइरहेको छ ।

तर, राज्यको नजरमा भने कुनै फरक परेको छैन । उनीहरूको प्रतिभालाई न त संघीय सरकारले न प्रदेश सरकारले प्रवर्द्धन गर्न चासो देखाएको छ ।

“संजय र लालमोहर कबड्डीका लागि उदाहरण पात्र मात्र हुन्” नेपालका राष्ट्रिय कबड्डी निर्णायक रामवरण यादव भन्छन्, “खासगरी प्रदेश २ का विभिन्न गाउँमा उनीहरूजस्ता दर्जनौं प्रतिभावान् खेलाडीहरू ओझेलमा परेका छन् ।”

कबड्डी खेलप्रति राज्यको उदासीनताका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराउन सक्ने नयाँ पुस्ताका प्रतिभाहरू सतहमा आउनै नसकिरहेको उनको बुझाइ छ ।

अन्य खेलमा जस्तो कबड्डीलाई राज्यले महत्व दिए अन्तर्राष्ट्रिय जगतमा धेरै गर्न सक्ने क्षमता रहेको संजयको विश्वास छ ।

उनी भन्छन्, “कबड्डी र कुस्तीका लागि उर्वर भूमि हो प्रदेश २ । यस क्षेत्रमा खेल र खेलाडीका लागि आजसम्म राज्यले के गरेको छ ?”

परिवारबाट स्वतन्त्रता पाएपछि आफू अपवादका रूपमा कबड्डीमा जम्न सक्षम भए पनि आफूभन्दा धेरै क्षमता भएका अनेकौं प्रतिभाहरू परिवार पाल्ने जिम्मेवारीबाट उम्किनै नसक्दा सतहमा आउन नसकेको उनको जिकिर छ ।

“सबभन्दा पहिले कुनै अभिभावकले किन आफ्ना छोराछोरीलाई खेल्न छुट दिन्छ ?,” कबड्डी निर्णायक यादवले बाह्रखरीसँग भने, “देशका लागि खेल्न गएका खेलाडी खेल्दाखेल्दै घाइते हुँदा उसको उपचार गरिदिनुपर्नेसम्मको दायित्व राज्यलाई बोध हुँदैन । पूरै जवानी खेलमा बिताउनेहरू बुढेसकालमा पुग्दा आर्थिक अभावकै कारण परिवार र समाजमा अपहेलना सहन बाध्य हुन्छन् भने यस्तै परिणामका लागि खेल्ने ? यस्ता सोच अहिलेको पुस्तामा छ ।”

सञ्जयका अनुसार परिवार पाल्ने आधार र आवश्यक प्रशिक्षकको व्यवस्था मात्रै राज्यले गरिदिए कबड्डी खेलले नेपालको शिर ठाडो राखिरहने दाबी गर्छन् ।

“प्रदेश २ कबड्डी खेलको आधार क्षेत्र हो । तर, यति धेरै सम्भावना भएको यो सिंगो प्रदेशमा जम्मा एकजना प्रशिक्षक छन् । अनि कसरी विकास होस् यो खेलको ?,” सञ्जयको प्रश्न हो ।

आफूजस्ता स्वतन्त्र खेलाडीहरू प्रशिक्षक अभावमा हुनुपर्ने जतिको विकास गर्न नसकिरहेको उनले बताए ।

नेपालमा एकेडेमी स्थापना गरेर सम्भावना भएका खेलाडीहरूलाई जिल्लास्तरबाटै छनौट गरी उपयुक्त वातावरणमा हुर्काए दक्षिण एसियामै चुनौती दिन सक्ने टिमको विकास गर्न सकिने उनको विश्वास छ ।

सञ्जयले प्रदेश सरकारलाई कबड्डी खेलप्रति गम्भीरता पूर्वक अध्ययन र लगानी गर्न आग्रह गरे ।

खेल्नकै लागि आधा दर्जन देश घुमे सञ्जय

नौ कक्षामा पढिरहँदा कबड्डी खेल्न थालेका सञ्जय नवौं सागदेखि निरन्तर नेपालको राष्ट्रिय टोलीमा सामेल भई विभिन्न मुलुकमा खेल्दै आएका छन् ।

पहिलो अन्तर्राष्ट्रिय खेल पाकिस्तानमा खेलेका सञ्जय दशौं साग अन्तर्गत श्रीलंका, ११ औं सागमा बंगलादेश र १२ औं साग भारतको आसाममा नेपालको तर्फबाट खेलेका थिए ।

बंगलादेशमा नेपाली टिमले कास्य पदक प्राप्त गरेको थियो । यी बाहेक मुम्बईमा सन् २००४ र २००६ मा भएको वल्र्डकपका लागि पनि सञ्जय नेपाली टिममा सहभागी थिए ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १२:२१  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *