बाँके-बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न समिति गठन


नेपालगन्ज । बाँके-बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न नेपालगञ्जमा समिति गठन गरिएको छ। बुधबार बाँकेका सत्ताधारी र प्रतिपक्षी दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायीलगायत सम्मिलित १७ सदस्यीय समन्वय तयारी समिति गठन गरिएको हो।

प्रदेश-५ को राजधानी नेपालगञ्ज नहुने भएपछि बाँके-बर्दियालाई कर्णालीमा गाभ्न पहल थालिएको अभियन्ता नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले बताए। उनले भने, ‘समितिले पहिलो चरणमा बाँके र बर्दिया जिल्लाका राजनीतिक दलका नेतृत्व र जनप्रतिनिधिहरुसँग दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा बृहत छलफल गरेर सुझाव संकलन गर्नेछ। त्यसपछि मात्र निर्णय हुनेछ।’

राणाले एक वर्षदेखि नेपालगञ्जलाई राजधानी नबनाए कर्णाली प्रदेशमा गाभ्ने आन्दोलनको नेतृत्व आपूmले गर्ने बताउँदै आएका छन्। समितिमा सबै दल, नागरिक समाजका प्रतिनिधि समावेश गरिएका छन्। राजनीतिक दल र स्थानीय सरकार प्रमुख र उपप्रमुखसँगको छलफलपछि आन्दोलनको स्वरुप तय हुने नेकपा बाँकेका सदस्य रत्न खत्रीले जानकारी दिए।

बुधबार बसेको नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि सहजीकरण गर्ने निर्णय गरेको प्रमुख राणाले बताए।

प्रकाशित मितिः     ११ पुष २०७६, शुक्रबार ०७:५८  |