जाडखोल्सी नजिक एक युवक मृत फेला


दाने बोहरा सिमकोट
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ३ स्थित जाडखोल्सी गाउँ नजिक बाटोमा एक युवक मृत फेला परेका छन् । आइतबार कुन्छोलुङ्ग गुम्बाबाट पुजा सकेर घर फर्किदै गरेका १९ वर्षीय शिव लामा मृत अवस्थामा फेला परेका हुन् । गाउँभन्दा आधा घण्टा टाढाको बाटोमा लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्लाबाट इन्सपेक्टर शिताराम विष्ठको टोली पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले बताए । लामासँगै रहेका दुई जना साथिलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय हुम्ला ल्याइएको उनले बताए । लामाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल हुम्ला लगिए पनि रिपोर्ट नआइसकेको उनको भनाई छ ।

प्रकाशित मितिः     २३ पुष २०७६, बुधबार २२:५७  |