जिल्ला अस्पताल हुम्लामा आकस्मीक सेवा बाहेक अन्य ओ पि डि सेवा बन्द


चैत्र १० हुम्ला । बिस्वकै महामारीको रुपमा देखीएको नोवेल कोराना भाईरसलाई नियन्त्रण तथा रोकथाम गर्न हुम्ला जिल्लाका सरोकारवाला निकायहरुको बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी बिनिता भटराइको अध्यक्षतामा बसेको बैठकले (कोभिड १९) भाईरस नियन्त्रण तथा नियमनको लागि हुम्ला जिल्ला स्थीत प्रत्येक स्थानीय तहमा १ जना मेडिकल अधिकृत,२ जना प्याराभेडिक्स सहितको १० जना मेडिकल टिम तत्काल ब्यबस्थापनका लागि कर्णाली प्रदेश,सामाजीक मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिनिता भटराईले जानकारी दिईन् ।

जिल्लाको लागि स्वास्थ्य सामाग्री,औषधी ब्यबस्थापन तथा स्वास्थ्य सम्बद्ध बिभिन्न संघ सँस्थासँग समन्वयका लागि स्वास्थ्य सेवा कार्यालय,हुम्लाको संयोजकत्वमा जिल्ला स्वास्थ्य समिति गठन गर्ने र अन्य सदस्यहरु जिल्ला बिपद ब्यबस्थापन समितिबाट मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

जिल्लामा क्वारेन्टाईन ब्यबस्थापनको लागि प्रमुख जिल्ला अधिकारी बिनिता भटराईको संयोजकत्वमा क्वारेन्टाईन ब्यबस्थापन समिति गठन गर्ने,सिमकोट बिमानस्थल प्रयोग गरी आउने प्रत्येक यात्रुलाई सेल्फ क्वारेन्टाईन प्रयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्लाको तल्लो क्षेत्र हुँदै जिल्ला सदरमुकाम प्रबेश गर्ने नागरीकहरुलाई याङ्चु बजारमा रहेको हेल्प डेक्स मार्फत चेकजाँच गराएर मात्र प्रबेश गराउने,स्वास्थ्य सेवा कार्यालय अन्त्रगतको जिल्ला अस्पतालबाट लिईदै आएको सेवा मध्ये आकस्मीक बाहेक अन्य सेवाहरु मिति २०७६ साल चैत्र ११ गते देखी अर्को सुचना नहुँदा सम्म बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले जानकारी दिए ।

बैठकमा जिल्ला स्थीत सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः     १० चैत्र २०७६, सोमबार २०:४७  |