बैशाख १७ हुम्ला । सर्केगाड गाउँपालिकाले जिल्ला बाहिर रहेका आफ्नो गाउँपालिकाका नागरीकलाई उद्धार तथा राहत बितरण गर्ने भएको छ ।
बैशाख १६ गते बसेको गाउँकार्यपालिकाको बैठकका निर्णयहरु बुधबार सार्वजनीक गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले काठमाडौ,नेपालगञ्ज र सुर्खेत लगायत अन्य जिल्लामा रहेका नागरीकहरुले घरमा आउन चाहेमा घरमा ल्याउने र घरमा नआउने नागरिकहरुलाई घरभाडामा बसेका नागरीकहरुलाई प्रतिब्यक्ति २ हजारका दरले राहत बितरण गर्ने निर्णय गरेको बताए ।
गाउँपालिकामा नभई अन्य जिल्लामा गई बिभिन्न कामको सिलसिलामा तथा अध्ययनमा गएका नागरीकलाई राहत बितरण गर्नको लागि काठमाडौ सुर्खेत र नेपालगञ्जमा राहत बितरणको लागि सम्पर्क ब्यक्ति खटाइसकेको गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले बताए ।
उनले रेडियो श्रीनगर सँग भने “घर आउन चाहने कुनै पनि नागरीकलाई गाडि भाडाको ब्यबस्थापन गरी घरमा ल्याउने र घर आउन नचाहने नागरीकलाई प्रतिब्यक्ति दुई हजारका दरले राहत बितरण गर्ने छौ,राहत लिनको हामीले तोकेका ब्यक्ति सँग सम्पर्क गरी लिनु होला”।
१६ गते बसेको गाउँकार्यपालिकाको बैठकले काठमाडौको लागि मंगल बहादुर शाही,ठान बहादुर शाही,मानदेब शाही,नन्दबहादुर ऐडी,धन्जय बुढा,नेत्र महतारा,जनक फडेरा र जटिल कार्कीलाई जिम्मा दिने निर्णय गरेको बताए ।
नेपालगञ्जमा भएका नागरीकहरुको लागि पुर्ण रावल,जय बहादुर धामी र नरेन्द्र बुढालाई जिम्मा दिएको छ भने कर्णाली प्रदेशको राजधानी सुर्खेतको लागि छबी थापा,बम बहादुर शाही र टङ्क शाहीलाई जिम्मा दिएको बताए ।