ओली–प्रचण्ड छलफलमा वरिष्ठ नेतालाई पनि सहभागी गराउन नेपाल पक्षको माग


अषाढ २३ काठमाडौ । सत्तारुढ नेकपाको विवाद समाधानका लागि आज पुनः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ।

अध्यक्षद्वयको छलफलको समय भने निर्धारण भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ। सहमतिको खाकासहित आज अध्यक्षद्वयबीच छलफल हुने जनाइएको छ। यस अघि हिजो ओली र प्रचण्डबीच भएको वान टु वान वार्ता सकारात्मक भए पनि बिना निष्कर्ष टुंगिएको थियो।

अनौपचारिक कार्यदलले तयार पार्ने सहमतिको खाकासहित आज अध्यक्षद्वयबीच वार्ता हुन लागेको स्रोतले जनाएको छ। आज जसरी पनि अध्यक्षद्वयबीच सहमति गराउने प्रयासमा नेताहरु लागेका छन्। आज सहमति भए भोलि स्थायी कमिटी बस्ने छ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ। नेकपा नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृहकार्य गर्ने र सहमतिको खाका बनाउने जिम्मा दिइएको छ। कार्यदल भनेर घोषणा नै नगरेपनि चार जनाको टोलीलाई अरु नेतासँग समेत बसेर सहमतिको खाका बनाउने जिम्मा दिइएको थियो। ती नेताहरुले बनाएको सहमतिको खाकाका आधारमा शीर्ष नेताबीच छलफल हुने भएको हो। यसैबीच ओली र प्रचण्डबीच संवादको वातावरण बनिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने आशंका व्यक्त गरेको छ।

पहिले जस्तै दुई अध्यक्षबीच सहमति भएमा आफूहरु पेलानमा पर्ने भन्दै नेपाल समूहले वार्तामा वरिष्ठ नेताहरुलाई पनि राखिनुपर्ने जनाएको छ।

प्रकाशित मितिः     २३ असार २०७७, मंगलवार ०८:५५  |