नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा पुगेको छ । शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ ।
गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएका थिए । दुई अध्यक्षको प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरिएको छ भने सोही प्रस्तावका कारण नेकपाभित्रको विवाद थप चर्किएको अवस्था छ । आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालयको बैठक भर्खरै सम्पन्न भएको छ। भोली मंसिर २१ गते आईतबार पूर्व निर्धारित समय अनुसार १ बजे धुम्बाराहीमा स्थायी समितिको बैठक बस्नेछ।