प्रचण्डको उत्थान र पतन !


अध्यक्षद्वयको निबन्ध प्रतियोगिता आन्दोलनको इतिहासमाथि नागरिकको सम्पूर्ण आशा र विश्वास समाप्त गर्न सहायक छ  ।

हिन्दीका मूर्धन्य साहित्यकार प्रेमचन्दको ‘घर जमाई’ भन्ने कथा पढेको धेरै वर्ष भयो । कथाका प्रमुख पात्र हरिधन पिताले अर्की आमा ल्याएपछि विचलित हुन्छन् । आफ्नो अंश लिएर घर छाडी ससुराली गएर बस्छन् । ससुरालीमा मान, सम्मान, प्रेम र सद्भाव सबथोक पाउँछन् हरिधनले । अंशबाट आएको सम्पत्ति छउन्जेल ससुरालीमा हरिधनको खुबै खातिर हुन्छ । उनलाई लाग्छ मैले गाउँघर छाडेर ससुरालीमा घरज्वाइँ हुने निर्णय ठीक गरेछु भनेर । पुरानो गाउँघर, इष्टमित्र, आफन्त र बुबा–आमासँग घरमा प्राप्त माया बिस्तारै विस्मृतिमा जान्छ हरिधनको । सम्पत्ति क्रमशः सकिँदै जान्छ । ससुरालीमा हरिधनले पाउने मान–सम्मान पनि ओराले लाग्ने गति अब तीव्र हुन्छ । ससुरालीघरको सबै काम गर्न बाध्य हुन्छ, तर पनि ससुरालीमा सम्मान र इज्जतपूर्वक दुई छाक खान पाउँदैन हरिधनले । हरिधनको आत्मा त्यतिखेर कुडिन्छ, जब उसकी पत्नी पनि माइतीखालको बोलीमा लोली मिलाउन थाल्छे ।

हरिधनले १० वर्ष नोकरसरह बिताउँछ ससुरालीमा । बिहानदेखि रातिसम्म गाली सुन्नुपर्दा आपूmले आफैँलाई धिक्कार्छ, आहत हुन्छ हरिधन । सबैले खाएर बचेको जुठो मात्र खान दिएको पीडा भोग्छ । एक दिन हरिधन ‘म कुकुर हुँ यो घरको, म उल्लु हुँ’ भनी सालाहरूसँग झोक्किन्छ । हरिधन कसरी आत्माभिमानी भयो रु उसका सालाहरू तीनछक पर्छन् । भित्रबाट सासू आउँछे र कर्कश स्वरमा, ‘त निकम्मा घरज्वाइँ, मेरा छोराहरूसरहको हुँ भन्ठान्छस् आफूलाई रु तँलाइ बाँधेर राखेको छ र रु घरबाट आजै गइहाल्’ भन्छे । हरिधन यो शब्दवाण सुनेर आफ्नो राक्षसी निद्राबाट ब्युँझिन्छ । ‘मेरा छोराहरूसरहको हुँ भन्ठान्छस् आफूलाई रु’ भन्ने वाक्यले हरिधनको मृतात्मा जाग्छ । म बराबर होइन यो परिवारमा । योे तत्वज्ञानले हरिधनको मुटु छिया–छिया हुन्छ । विस्मृतिमा पुगेको आफ्नो पुरानो घर, गाउँ, साथीभाइ, परिवार र इष्टमित्र सम्झेर हरिधन रातभरि रुन्छ । हरिधन दश वर्षपछि एक्लै ससुराली छाडेर आफ्नो पुरानो गाउँ फर्कन्छ । अब हरिधनसामु आफ्नो गाउँघर थियो । आफ्नै समाज थियो । त्यो समाज, जुन उसले छोडेर गएको थियो । त्यो समाज जहाँ हरिधनलाई सबैले प्रेम गर्थे र हरिधनले सबैलाई प्रेम गर्थ्यो ।

प्रेमचन्दको यो कथाको मूलपात्र हरिधनजस्तै नेकपाका अध्यक्ष नम्बर दुई प्रचण्ड यतिखेर आफूलाई त्यस्तै ठान्छन् भने अन्यथा होइन । प्रचण्ड, नेकपा ९माओवादी केन्द्र०लाई नेकपा ९एमाले०मा समाहित गरेपछि हरिधनझैँ देखिन्छन् । नेकपामा ओलीसरह ‘बराबर’ हैसियतको अध्यक्ष ठानेर प्रचण्डले आफैँमाथि अन्याय गर्न पुगे । प्रचण्डको ठूलो चुक यही भयो । कुनै वेला ओलीले सम्मान गर्थे, प्रचण्डसँग आज के छ र ? आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली उनलाई सम्मान नै गर्दैनन् । प्रचण्डसँग जे–जति शक्ति थियो, त्यो सबै ओलीको पाउमा चढाए उनले । पार्टी एकताका नाममा अत्यन्त बेढंगी तरिकाले प्रचण्डले आफ्नो ओज, ऐश्वर्य र इतिहास सबै सुम्पिदिए । प्रधानमन्त्री ओलीका सहयोगी गोकुल बाँस्कोटाले प्रचण्डलाई ‘डेरामा बस्न आउने अनि घरै मेरो भन्ने’ भनी बडो सटिक टिप्पणीबाट नेकपामा प्रचण्डको हैसियत देखाएका छन् । डेढ दसकअघिको प्रचण्डसँग सबैथोक थियो र झन्डै सम्पूर्ण विश्वमा उनी क्रान्तिकारी भनी चिनिन्थे । विश्व चकित थियो, उनको जनयुद्धले । उनीसँग जनमुक्ति सेना थियो, जो राजनीतिक कारणले बलिदान हुन तयार थियो । नेपाली समाज रूपान्तरणको असाधारण कार्यसूची थियो प्रचण्डसँग । नयाँ नेपालको राजनीतिक एजेन्डा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिताजस्ता विषयहरू मूलधारका राजनीतिक दलहरूले सुन्दा जिब्रो टोक्थे, तर प्रचण्डले स्थापित गरेर देखाएका थिए नेपालमा ।

डेढ दशकअघिको प्रचण्डसँग सबैथोक थियो र झन्डै सम्पूर्ण विश्वमा उनी क्रान्तिकारी भनी चिनिन्थे । विश्व चकित थियो, उनको जनयुद्धले । उनीसँग जनमुक्ति सेना थियो । नेपाली समाज रूपान्तरणको असाधारण कार्यसूची थियो । चाहिनेभन्दा बढी छटपटी नदेखाएर उनी आफ्नै पार्टीका नेता हुन्थे भने आज दक्षिणपन्थी यसरी खुल्लमखुल्ला सडकमा आउन हिम्मत गर्ने थिएनन् ।

अलौकिक, चमत्कारिक र रहस्यमय व्यक्तित्व थियो, प्रचण्ड भूमिगत हुँदा । गाउँघर मात्र होइन, काठमाडौं खाल्डो पनि रिङरोडभित्र खुम्चिन्थ्यो उनको उर्दीले । आदिवासी, जनजाति, खसआर्य, महिलादेखि दलितसमेतले बन्दुक उठाएर तत्कालीन शाही सेनासँग टक्कर लिएका थिए उनको नेतृत्वमा । गाउँमा सामन्तको भागाभाग थियो । प्रचण्ड नामधारी व्यक्तित्वको त्यो विराट स्वरूप र आभामण्डलमा संसदीय दलका सबै नेता र कार्यकर्ता बौना देखिन्थे । जब तत्कालीन राजा ज्ञानेन्द्रले मूलधारका पार्टीलाई निस्तेज पारे, तब यिनै प्रचण्डसँग यी संसदवादीले सहकार्य गरेर ०६२र०६३ को आन्दोलन सफल पार्न सम्भव भयो । पहिलो संविधानसभा निर्वाचनको माहोल थियो । प्रचण्ड निर्वाचनको दौडाहामा पूर्वमा थिए । मेची अञ्चलको भ्रमण गरी इटहरीतर्फको यात्रामा थिए प्रचण्ड । म मोरङको पूर्व–पश्चिम राजमार्गमा टाँसिएको कम्युनिस्ट गढ भनिने राजघाट गाउँमा कांग्रेस उम्मेदवारको प्रचारमा खटेको थिएँ । प्रचण्डको बेग यस्तो थियो कि राजघाट गाउँका सम्पूर्ण केटाकेटी, बुढाबुढी, युवा–युवती र अन्य दलका कार्यकर्ता पनि उर्लावारी उनको दर्शन गर्न पुगेका थिए । मैले आफ्नो सम्पूर्ण राजनीतिक कार्यक्रम रद्द गर्नु परेको थियो ।

स्वस्थानीमा वर्णित लावण्य देशको राजा नवराज हुँदा जसरी सहरका सबै नागरिक कामधाम छाडेर राजा हेर्न पुगेका थिए, त्यही दृश्य मैले उर्लावारीमा देखेको थिएँ । बिपी कोइराला भन्नुहुन्थ्यो, ‘मलाई विराटनगर जुटमिलमा हडतालको नेतृत्व गरेबापत तत्कालीन राणा सरकारले समातेर राजधानी लग्ने भयो । झन्डै तीन हप्ता लगाएर पहाडको बाटो मलाई हिँडाउँदा हेर्न आउने भिडलाई मैले राजनीतिक चेतना जगाउने अवसरका रूपमा बदलेँ ।’ बिपीले ००७ सालको क्रान्तिपछि पनि लोकतान्त्रिक नागरिक चेतनाका लागि महिनौँसम्म हिमाल, पहाड र तराई पैदल, घोडा, गाडी र रेलसमेतमा संवादका लागि दौडनुभयो । ०१५ सालको चुनावी परिणाम बिपीको यही देश–दौडाहाका कारण सम्भव भयो । तत्कालीन नेपालको भूगोल, भूराजनीति, नागरिक चेतना र काठमाडौंका शक्तिकेन्द्रहरू बिपी अनुकूल थिएनन्, तर प्रचण्डले राजनीति गर्दा यो सबै उनको अनुकूल थियो ।

प्रचण्ड भूमिगत राजनीतिबाट काठमाडौंमा प्रकट हुँदा सम्भ्रान्तदेखि सामान्य नागरिकसम्म र उद्योगपतिदेखि पेसा–व्यवसायीसम्मले राजधानीमा आत्मसमर्पण र उनलाई सम्मान गरेको दृश्य वास्तवमै अद्भुत थियो ।

प्रेमचन्दको हरिधन सबै लुटाएर १० वर्षपछि आफ्नो अन्तरात्माको आवाज सुनेर गाउँ फर्कन्छ । प्रचण्ड भने अहिले ससुरालीमा छन्, आफ्नो केही बचेकुचेको श्रीसम्पत्ति लिएर । धन्य, अहिले उधारोमै भए पनि उनलाई ससुरालीमा माधव नेपालले उद्धार गरिरहेका छन् । नेकपाभित्र माधव नेपाल एन्ड कम्पनीले प्रचण्डलाई सहारा नदिएको भए ओलीले उनलाई पार्टीबाट ‘बाहरवाली’ बनाउन धेरै पहिले नै एक मिनेट पनि पर्खँदैनथे होलान । यी तिनै माधव नेपाल हुन्, जसलाई पार्टी एकीकरणको नाममा प्रचण्ड र ओलीले छेउ किनारा लगाउन गर्नुपर्ने सबै षड्यन्त्र गरेका थिए । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने कुरा यहाँनेर फेरि प्रचण्ड बुझ्दै होलान् । नेपालको राजनीतिमा प्रचण्डको छुट्टैै भूमिका हुन सक्थ्यो, उनको एमालेकरण नभएको भए । निर्वाचनमा पार्टी ठूलो सानो हुने घटना त स्वाभाविक हो । त्यसबाट आत्तिएर वा चाहिनेभन्दा बढी छटपटी नदेखाएर उनी आफ्नै पार्टीको नेता हुन्थे भने आज नेपालको राजनीतिमा दक्षिणपन्थी यसरी खुल्लमखुल्ला सडकमा आउन हिम्मत गर्ने थिएनन् । प्रचण्ड वर्तमान संविधानको रक्षक भएर एक्लै उभिन सक्थे संकट पर्दा । आज त्यस्तो नेताको खाँचो पनि छ, जसले वर्तमान संविधानलाई पूर्णतः अपनत्व प्रदान गरोस् । प्रचण्ड चुके । प्रधानमन्त्री हुने लोभमा चुके कि ठूलो पार्टीको अध्यक्ष हुने लोभमा चुके थाहा छैन । तर, नेकपामा प्रचण्ड प्रधानमन्त्री र अध्यक्ष हुने सपना मात्र होला । उनी यस्तो ससुरालीघरमा छन्, जहाँ उनको हैसियत ‘बराबर’को हुन सम्भव नै छैन ।

प्रचण्डले अहिले प्रधानमन्त्रीमाथि लगाएको आरोपपत्र पनि अराजनीतिक मात्र छैन, जनतासँग चुँडिएको पनि देखिन्छ । ६०–७० को दशकमा प्रवचन गरिने कम्युनिस्ट जार्गनको सस्तो पुस्तकझैँ यो अभियोगपत्र छ । जनतालाई सरोकार नभएको विषयले १९ पेजमा १७ पेज ओगटेको छ । सरकारलाई तीन कारणले नागरिकले विश्वास र भरोसा गर्छन् । पहिलो, सरकारले आफ्नो जिम्मेवारी कति पूरा गर्‍यो । जिम्मेवारीका अनेक आयाम छन् र नागरिकप्रतिको जिम्मेवारी सरकारको पहिलो हुन्छ । दोस्रो, जब संकट आउँछ नागरिकप्रति सरकार कति संवेदनशील हुन्छ रु उदाहरणका लागि कोरोना महामारीबाट नागरिकलाई जोगाउन र देशमा रोजगारी गुम्न नदिन सरकारले संकटको समय आफूलाई कसरी प्रस्तुत गर्‍यो । तेस्रो सरकारको प्रतिबद्धता र उपलब्धिमा समानता कति छन रु पहिलो र तेस्रो कारणको फेहरिस्त लामो छ । तर, जनताको संकटमा सरकार सडक, संसद्, सेवा, सुविधा र सहयोग गर्न कहीँ देखिएन । रोजगारी जोगाउन कुनै सार्थक पहल भएन ।

इतिहासका एक गुरुले भनेका थिए, ‘नागरिकको भविष्य नजिकको अतीतबाट निर्माण हुन्छ ।’ कोरोनाबाट उत्पन्न परिस्थिति नजिकको अतीत हो सम्पूर्ण मानवजातिका लागि । विश्व व्यवस्था त्यसैका कारण परिवर्तन हुँदै छ । छिमेकी चीनमा २०२१ जनवरीदेखि सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन हुने निर्णय भइसक्यो । नेपालका कम्युनिस्टले नसोचेको परिवर्तन चिनियाँ कम्युनिस्ट पार्टीले गर्दै छ, आफ्नो ८९ सूत्रीय कार्यक्रमअनुसार । अब चिनियाँ आर्थिक वृद्धिदरको पछि नलागेर रोजगारीलाई देशको आर्थिक वृद्धिको मापदण्ड बनाउँदै छन् । चीन नयाँ सोच्दै छ । पुँजीवादको भिटामिन खाएर लोकतन्त्रको मार्गमा जाने तयारी चीनमा चानचुने छैन ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पराजयपछि युरोप र अमेरिका पनि संयुक्त रूपमा नयाँ विश्व व्यवस्थाका लागि बहसरछलफल गर्दै छन् । भारतले पनि कोरोनासँगै अर्थतन्त्र र रोजगारीलाई तीव्र गतिमा सुधार्न अनेकन उपाय अवलम्बन गर्दै छ, जसको प्रभाव अर्थतन्त्रमा देखिन थालिसक्यो । यी देशले नजिकको अतीतमा टेकेर निर्माण गर्ने भविष्य सुन्दर देखिँदै छ । हामी के गर्दै छौँ रु सरकार त्यसतर्फ कति जिम्मेवारीपूर्वक बढ्दै छ रु बेलायतमा कोरोना भ्याक्सिनलाई लिएर ‘भ्याक्सिन पर्यटन’ नै सुरु भइसक्यो । अमेरिका पनि भ्याक्सिन पर्यटनको तयारीमा जुटेको बुझ्न सकिन्छ । पैसा हुनेहरू बेलायत, युरोप र अमेरिकातिर कुद्ने छाँट देखिँदै छ विश्वभरिबाट । नेकपाको अध्यक्षद्वयको निबन्ध प्रतियोगिता नेपालको नजिकको अतीत हो । यो पट्यार लाग्दो मात्र छैन, कम्युनिस्ट आन्दोलनको लामो इतिहासमाथि नै नागरिकको सम्पूर्ण आशा र विश्वास समाप्त गर्न यो सहायक पनि छ । तेस्रो निरर्थक निबन्ध पनि आउला चाँडै नै ।

हरिधनले आफ्नो छवि, पुँजी र आत्मसम्मान १० वर्ष खेर फाल्यो । तर, पनि हरिधन फर्कियो आफ्नो गाउँघर, इष्टमित्र र परिवारसँग । नेकपाले प्राप्त गरेको बहुमत कहिले प्रचण्डको व्यवस्थापनमा, कहिले बामदेवको संसद् प्रवेशको अनाहक विवादमा र कहिले निवन्ध लेखन प्रतियोगितामा खेर फाल्यो । प्रचण्ड पक्कै पनि ससुरालीबाट आफ्नो घर फेरि फर्कनेछन् । नेकपामा ‘घरवाली र बाहरवाली’को झगडाको अन्त्य अहिले अनुमान मात्र गर्न सकिन्छ । राजनीतिशास्त्रका प्राध्यापक मित्र कृष्ण खनालको आकलन छ, ‘प्रचण्ड अहिले घर फर्किँदैनन्, निर्वाचनमा भने ससुराली बस्न सम्भव नै छैन ।’ प्रश्न छ, घर फर्कँदा प्रचण्डको जन्ती कत्रो होला ?
साभार नयाँपत्रिका

प्रकाशित मितिः     २१ मंसिर २०७७, आईतवार ०९:४३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *