पुष ७ हुम्ला । लामो समयको लकडाउनका कारण रोकिएको निर्माणाधीन गल्फगाड बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा रहेको गल्फागाड बेलिबिज्र गत वर्ष माघदेखि शुरु भएको थियो भने नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले गत शुक्रबार सम्पन्न गरेको हो ।
गल्फागाडमा बेलिब्रिज जडान सम्पन्न भए पनि सवारी साधन तत्काल सञ्चालनमा आएका छैनन् जडान सकिए पनि बेलिब्रिजको दुवैपट्टि रेम बनाउन करिब दुई हप्तादेखि एक महिनासम्म लाग्न सक्ने भएकाले सवारी साधन सञ्चालन ल्याउन नसकीने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख मिलन कार्कीले बताउनु भयो ।
तीन दिनको समय लगाएर गल्फागाडको बेलिब्रिज जडान गरिएको छ । गल्फागाडको पुल निमार्ण सम्पन्न भएसँगै सर्केगाड गाउँपालिका, मुगु लगायत तुम्च वालुकुना सम्म जान सहज हुने भएको छ । यसभन्दा अघि गल्फागाडको खोला भएर यातायातका साधन तारिँदै आइएको थियो भने अबको केही दिनमा गल्फागाड पुलबाटै आवतजावत गर्ने भएको हुँदा यहाँका स्थानीयवासी सहित सवारी साधनका चालक समेत खुशी भएका छन् ।
आयोजना प्रमुख कार्कीका अनुसार तुम्चाको वालुकुनासम्म औपचारिक सवारी सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको छ भने, “प्रक्रिया अघि बढेकाले अब माथिबाट पत्र आउन मात्र बाँकी छ, गत मङ्सिर २६ गते भएको अनुगमनको प्रतिवेदन रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको मुख्यालयमा पुगिसकेको र स्वीकृत भएर आउन मात्र बाँकी रहेको छ । अब हप्ता, दश दिनभित्र स्वीकृत भएर आउनेछ ।”
नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडक खण्डको आफूले जिम्मा लिएको काम मध्ये ९० प्रतिशत सम्पन्न गरेको जानकारी दिएको छ ।
आगामी चैत महिनासम्म सवारी साधन सञ्चालनमा ल्याउनका लागि नेपाली सेना लागि परेको छ । मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले ढिलोमा आउँदो चैतसम्ममा यो सडकखण्डमा सवारी साधन सञ्चालन हुने नेपाली सेनाको सडक निर्माण दलका आयोजना प्रमुख कार्कीले बताए ।
सेनाले निर्माण गरिरहेको बाजुरा र हुम्लाको सीमा कवाडीबाट सर्केगाड र चखेली गाउँपालिकाको सीमा सलिसल्लासम्म चैतसम्ममा सवारी साधन चलाउन योग्य बनाउने उनले जानकारी दिए । सडकको बिच बिचमा सडकलाई चौडा बनाउने काम भैरहेको भने अझै पनि केही ठाउँका भिरहरु फोर्ने काम भैरहेको बताउनु भयो ।
तत्काल स्वीकृती आए पछि कवाडीबाट सलिसल्लासम्मको ३९ किलोमिटर सडकमध्ये ताजाकोट गाउँपालिकाको कवाडीबाट सर्केगाड गाउँपालिका–१ बालुकुनासम्मको २७ किलोमिटर सडक सवारी साधन चलाउन सकिने भएको छ । सवारी साधन सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीको नेतृत्वमा ,संघिय संसद छक्क बहादुर लामा सहित गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र जिल्लामा सरोकारवाल निकायको अनुगमनले सिफारिस समेत गरी सकेको छ ।
बालुकुनाबाट सर्केगाड–१ खच्चासम्मको साढे नौ किलोमिटर सडकमा सामान ढुवानी गर्ने र सेनाको गाडी चलिरहेका छन् । बाँकी साढे दुई किलोमिटर क्षेत्रमा मात्र सडक निर्माण पूरा भएको छैन । नेरघाट, पम्पडे र सलिसल्लाको चट्टानी भागको साढे दुई किलोमिटर भाग मात्र बाँकी रहेको सेनाको निर्माण दलले जनाएको छ । सो क्षेत्रमा पनि काम भइरहेको छ ।
सडक निर्माणमा दैनिक नेपाली सेनाका ९० जना सहित अन्य २०० भन्दा धेरै कामदार संलग्न छन् । ग्या बिन लगाउने, माटो भर्ने, सिमेन्टको काम र विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने र वाल लगाउने काम एकसाथ अगाडि बढिरहेको छ ।
गल्फागाडबाट पहिलो पटक बालुकुना सम्म गाडी चढेर गएका अदानचुली २ का गोर्खे बुढाले भने भारत गए पछि मात्र गाडी देख्ने गरेका थियौ सुरुमा गोलाहात राजापुरबाट गाडी चढ्थ्यौ आज हाम्रै गाउँमा गाडीहरु आउँदा खुसीको सिमानै नरहेको बताउनु भयो ।