सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना बिरुद्धको खोप भण्डारणका लागि सुर्खेतका दुई वटा कोल्डस्टोरमा २८ लाख ७३ हजार चार सय डोज राख्न सकिने क्षमता रहेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, कोरोना व्यवस्थापन गर्ने कर्मचारी,एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप दिइने छ । ‘हामीले ११ हजार ५ सयलाई पहिलो चरणमा खोप दिने निर्णय गरेका छौँ,’ उनले रातोपाटीलाई भने, ‘पहिलो चरणमा जिल्लालाई आएको खोप पनि आधा–आधा दिइने छ ।’ जिल्लागत विवरण पठाइएको उनले बताए । सम्पूर्ण जिल्ला अस्पतालबाट दिइने छ,’ उनले भने ।
पहिलो चरणमा खोप दिइने मध्ये सबैभन्दा धेरै सुर्खेत रहेको उनले बताए । नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ । कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.अनुज भट्टचनलाई खोप अभियानको संयोजक तोकेको हो ।