सरकार र विप्लव समूहबीच भएको पहिलो चरणको वार्ता सकारात्मक


काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहबीच पहिलो चरणको वार्ता सकिएको छ । वार्ता कहाँ भयो भन्ने बिषयलाई भने गोप्य राखिएको छ ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई हुनुहुन्थ्यो भने नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य दिपक चलाउने सहभागि हुनुभएको थियो ।

वार्तापछि परराष्ट्र सल्लाहकार डा। राजन भटटराईले ट्वीटमार्फत वार्ता सकारात्मक रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।

आजको वार्ताबाट विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका उक्त समूहका नेता कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता गरी रिहा गर्नेबारे छलफल भएको बुझिएको छ । अर्कोबार्ता छिटै नै बस्ने स्रोतले बताएको छ । यसअघि हिजो नै सरकार र विप्लव समूहले वार्ता टोली गठन गरेका थिए ।

प्रकाशित मितिः     १९ फाल्गुन २०७७, बुधबार २०:४९  |