कोरोना खोप अभियानका लागि हुम्लामा १०६ केन्द्र तोक्यो


फागुन २२ हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार देखी सुरु हुने कोरोनाविरुद्धको खोप अभियानका लागि हुम्लाका सातैवटा गाउँपालिकाका विभिन्न १ सय ६ ठाउँमा खोप केन्द्र तोकेको छ ।

सरकारले फागुन २३ गते आइतबारदेखि देशभरका विभिन्न खोप केन्द्र मार्फत ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेकाले हुम्लामा पनि ६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन विभिन्न १ सय ६ ठाउँमा खोप केन्द्र तोकिएको स्वास्थ्य सेवा कार्यालयका हुम्लाका खोप केन्द्रका फोकल र्पसन मनबहादुर रोकायाले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय हुम्लामा स्टक रहेको २ हजार ८ सय ८० डोज खोप तिनैवटा गाउँपालिका र अन्य गाउँपालिकामा पनि खोप केन्द्रमा पठाउने तयारी भएको बताए ।

जिल्लामा रहेको स्वास्थ्य सेवा कार्यालय,खार्पुनाथ गाउँपालिका वडानं ५को ताक्लागाउँ,४वडा लेखगाउ,वडानं २ रायगाउँ र नाम्खा गाउँपालिकामा आइतबारबाट कोरोना खोप लगाउने तयारी भएको छ । यस्तै अन्य गाउँपालिकाका खोप केन्द्र लाई स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना खोप उपलब्ध गराउने खोप केन्द्रका फोकल र्पसन रोकायाले बताए ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइने र १० दिनपछि अर्थात चैत ४ गते देखि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने छ ।

यसअघि पहिलो प्राथमिकतामा परेका कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, कोरोना संक्रमित शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, पत्रकारहरु र बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई पनि खोप दिइसकेको छ ।

प्रकाशित मितिः     २२ फाल्गुन २०७७, शनिबार १७:५८  |