हुम्लामा ९० प्रतिशत बालबालिकाले मोर्डना खोप लगाए


मोहनसिङ बुढा हुम्ला
पुष २० मंलबार हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा ९० प्रतिशत बालबालिकाले मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालय हुम्लाको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाएका हुन् ।
विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएको स्वास्थ्य कार्यालय कोल्डचेन अशिस्टेण्ड मान बहादुर रोकायाले बताउनुभयो ।
अशिस्टेण्ड रोकायाका अनुसार थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिए पश्चात बालबालिकालाई विद्यालयमै खोप केन्द्र बनाएर खोप लगाउने कार्य सम्पन्न भएको हो ।
सातवटा स्थानीय तह रहेको हुम्लामा १२ देखि १७ वर्ष उमेरका पाँच हजार चार सय ९७ जना बालबालिकालाई मोर्डना खोप लगाइएको हो ।
सिमकोट गाउँपालिकामा रहेका एक हजार चार सय १४, नाम्खाका ३३१, खार्पुनाथका ६ सय तीन, अदानचुलीका एक हजार एक सय ७७ जना बालबालिकालाई खोप लगाइएको रोकायाले बताउनुभयो । यस्तै ताँजकोटका पाँच सय ६७, चंखेलीमा पाँच सय ७६ र सर्केगाड गाउँपालिकाका आठ सय २७ जना गरेर जिल्लाभरका पाँच हजार चार सय ९७ जना बालबालिकालाई मोर्डना खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।
सातवटा स्थानीय तहका लागी ६१ व्टा खोप केन्द्र मार्फत १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइएको हो । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बन्चित रहेका छन् । यस क्षेत्रमा अत्याधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्याउन कठिनाई हुनेभएपछि यहाँका बालबालिकालाई खोप नलाईएको हो । यहाँका बालबालिकालाई खोप खोप लगाउने भन्ने अझै टुंगो लागि नसकेको रोकायाले बताउनुभयो ।
यसैगरी दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाको वडा नम्बर एक र पाँचमा रहेको नेक्पा गाउँका बालबालिका खोप लगाउनबाट छुटेका छन् भने ृउनिहरुलाई अबको एक दुई दिनमा मोर्डना खोप लगाउने अभियान सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।

प्रकाशित मितिः     २० पुष २०७८, मंगलवार १५:३१  |