श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ५ च्याम स्थित फोर जी टावरमा सेवा बिस्ताका लागि डिभाइस जडान कार्य सुरु भएको छ । यस अघि निर्माण गरिएको टावरमा आजबाट डिभाइस जडान कार्य सुरु गरिएको हो ।
गत बर्षबाट टावर निर्माण कार्य सुरु भई यसअघिनै सम्पन्न भएको भएपनि उक्त टावरमा डिभाइस जडान कार्य बाँकी रहेको थियो ।
जिल्लाका ताँजाकोट, सिमकोट र नाम्खा गाउँपालिकामा यस अघिनै नेपाल टेलिकमको फोर जी सेवा बिस्तार भएको भएपनि चंखेली, सर्केगाड, खार्पुनाथ र अदानचली गाउँपालिकामा सेवा बिस्तार बाँकी रहेको समयमा अदानचुली गाउँपालिकामा जडान कार्य सम्पन्न पछि सेवाग्राही माझ सेवा बिस्तार हुने भएको छ ।
सोही फोरजी टावरमा केही महिना अगाडी मात्र टावरको भौतिक संरचाना निर्माण गरी सोलार सिस्टम जडान गरेर राखिएको थियो । सबै तयारी पुरा भएको टावरमा यतिबेला फोर जी सेवाको डिभाइस जडान कार्य सुरु गरिएको वडा नम्बर ५ का वडा सदस्य सिंह बहादुर बोहोराले बताउनु भएको छ ।
उहाँका अनुसार सेवा बिस्तारका लागि शनिबार पालिकामा इन्जिजियरको टोली सहित सामाग्री आएपछि आइतबारबाट जडान कार्य सुरु गरिएको हो । आजबाट जडान कार्य सुरु गरि अबको एक् साता भित्र सेवालाई बिस्तार गर्ने तयारी भएको प्राबिधिक टोलीले जानकारी दिएको छ ।
च्यामको टावरमा डिभाईस जडान कार्य सम्पन्न गरी मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ स्थित लामा काँदाको टावरमा गई डिभाइस जडान गर्ने भएको छ । सोही २ वटा फोर जी टावर एक साता भित्र एकैचोटी संञ्चालनमा आउने भएका छन । उक्त टावरहरु संञ्चालनमा आएपछि अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका, सर्केगाड गाउँपालिकाका केही र सोरु गाउँपालिका सहित बाजुरा केही ठाउँका नागरीकहरु फोर जी सेवाका पहुँचमा जोडिने भएका छन ।
यी क्षेत्रमा यस अघि सेवा बिस्तार नभएका सोही क्षेत्रका नागरीकलाई फोर जी सेवा बिस्तार भएपछि इन्टरनेटको पहुँचमा प्रत्यक्ष रुपमा जोडिने भएका छन । उक्त पालिकाहरुमा फोर जी सेवा बिस्तार भएपछि महंगो शुल्क तिरेर इन्टरनेट संञ्चालन गर्नु पर्ने बाध्यता समेत हट्ने भएको छ । बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयले समेत टेलिकमको माइक्रो वयबबाट इन्टरनेट सेवा संञ्चालन गर्न सक्ने भएका छन ।