हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन


हुम्लाका ५ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएका छन् । नेपाल सरकारले माघ ९ गतेका दिन हुम्लाका ५ वटा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी खोसे पश्चात अहिले सम्म नयाँ अधिकृत आएका छैनन् ।

हुम्ला जिल्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका, मध्ये क्षेत्रमा रहेको सर्केगाड र चंखेली गाउँपालिका तथा तल्लो क्षेत्रमा रहेका अदानचुली र ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी मन्त्रीस्तरीय निर्णयका आधारमा माघ ९ गते चार वटा गाउँपालिका (अदानचुली, सर्केगाड, सिमकोट र ताँजाकोट) र माघ ११ गते चंखेली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी खोसेको थियो ।

प्रमुख प्रशासकिय अधिकृत विहिन ५ वटा गाउँपालिका मध्ये सिमकोटमा गोविन्द प्रशाद दाहाल, सर्केगाडमा दिलिप खड्का र अदानचुली गाउँपालिकामा ताम्रराज काफ्लेलाई फागुन १ गतेबाट लागु हुँने गरी सरकारले नियुक्ती गरेपनि अहिले सम्म गाउँपालिकामा आएका छैनन् ।

नयाँ सिफारीस भई आएका तिनै प्रमुख प्रशासकिय अधिकृत यस अघि परराष्ट्र मन्त्रालयमा कामकाज गरीरहेका थिए फागुन १ गतेबाट लागु हुँने गरी नेपाल सरकारले स्थानीय निकायमा पठाएपनि आफुलाई अहिले सम्म गाउँपालिकामा पनि नआएको र आफुहरुलाई सम्पर्क समेत नभएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताउने गरेका छन् । तर अदानचुली गाउँपालिकामा सिफारीस भएका प्रमुख प्रशासकिय अधिकृत ताम्रराज काफ्लेले भने चैत्र १ गतेबाट आफ्नो कार्यक्षेत्रमा जाने बताउनु भएको छ । आफु सरकारले खटाएको ठाउँमा जान तत्पर रहेपनि घरमा आफन्त बिरामी भएकै कारण आफु हस्पिटलमा कुर्न पर्ने भएकाले ढिलाई भएको बताउनु भयो ।

यता चंखेली र ताँजाकोट गाउँपालिकामा भने अहिले सम्म कसैलाई पनि सिफारीस गरेको छैन । यस अघि सिमकोट गाउँपालिकामा उजिर रोकाया, चंखेली गाउँपालिकामा परम पाण्डे, सर्केगाड गाउँपालिका दिलिप खड्का, अदानचुलीमा हंस महतारा र ताँजाकोटमा राजेन्द्र स्याङ्कु प्रमुख प्रशासकिय अधिकृतको रुपमा कामकाज गरि रहेका थिए तर सरकारले जिम्मेवारी खोसेपश्चात उनिहरु जिम्मेवारी विहिन बनेका छन् ।

प्रकाशित मितिः     १८ फाल्गुन २०८१, आईतवार २०:३३  |