१३ जना बिद्यार्थीलाई १ लाख ४ हजारको छात्रबृत्ति


श्रीनगर । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर १ तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल लोक कल्याण संघ (सुवान) ले देवल आधारभुत विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी ८ हजार रुपैयाँका दरले जम्मा १ लाख ४ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरेको हो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका सामाजिक परिचालक दन्तराज कटुवालले ७ जना छात्रा र ६ जना छात्र गरी १३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कटुवालले ग्रामीण तथा विकट क्षेत्रका विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन संस्थाले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले आर्थिक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि शिक्षा, बालअधिकार तथा समुदाय विकासका क्षेत्रमा संस्था निरन्तर सक्रिय रहने उहाँको भनाइ थियो ।

विद्यालय प्रशासनले नेपाल लोक कल्याण संघले गरेको सहयोगले विद्यार्थीहरूमा थप उत्साह र हौसला थपिएको प्रधानाध्यापक मदन बुढाले बताउनुभयो । विद्यालयका शिक्षकहरूले दुर्गम क्षेत्रका धेरै विद्यार्थी आर्थिक समस्याका कारण अध्ययनमा कठिनाइ भोगिरहेको अवस्थामा यस्ता सहयोगले पढाइलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अभिभावकहरूले पनि संस्थाले गरेको सहयोगप्रति खुशी व्यक्त गरेका छन् । उनीहरूले विद्यार्थीको शैक्षिक सामग्री खरिद, पोशाक तथा अन्य आवश्यक खर्च व्यवस्थापनमा छात्रवृत्तिले राहत पुग्ने बताएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त भएपछि अझ मेहनतका साथ अध्ययन गर्ने प्रतिबद्धता जनाएका थिए । विकट हिमाली जिल्ला हुम्लामा यस्ता शैक्षिक सहयोग कार्यक्रमले विद्यार्थीको मनोबल बढाउनुका साथै विद्यालय शिक्षामा पहुँच विस्तार गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     २५ बैशाख २०८३, शुक्रबार १९:३९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *