सडक मर्मतका क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते


श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको पाम्स–काखे–बारीगाउँ सडक मर्मत गर्ने क्रममा माथिबाट एक्कासी खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन ।

अदानचुली गाउँपालिका–५ बारीगाउँकी अन्दाजी ३८ वर्षीया सुकुल्ली ऐडी सडक मर्मत कार्यअन्तर्गत ज्ञाबिन वाल लगाउने काम गरिरहेकै बेला माथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी हुन । ढुङ्गा लाग्दा उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको वडा नम्बर ५ का वडा सदस्य सिंह बोहोराले जानकारी दिनु भएको छ ।

खुट्टा फ्याक्चर भएकाले घटनापछि तत्काल प्राथमिक उपचारको व्यवस्था गरी थप उपचारका लागि अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत सुर्खेत पठाइएको वडा सदस्य बोहोराले बताउनु भएको छ । घाइतेको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधि तथा परिवारका सदस्यहरू समेत सक्रिय रहेका छन ।

सडक मर्मतको काम ठेकेदार अङ्गबहादुर सिंहको जिम्मेवारीमा सञ्चालन भइरहेको बताइएको छ । सडक निर्माण तथा मर्मतका क्रममा सुरक्षा सावधानी अपनाउनुपर्ने विषयमा स्थानीयवासीले समेत चासो व्यक्त गरेका छन । घटनापछि केही समय काम प्रभावित भए पनि अन्य कामदारहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको जनाइएको छ ।

प्रकाशित मितिः     ३० जेष्ठ २०८३, शनिबार १८:१०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *