कुटानी पिसानी मिल सञ्चालनमा आउँदा तुम्चवासीलाई राहत, ः प्रति किलो ७ रुपैयामा कुटानी पिसानी हुने ।।


नेपाल लोक कल्याण संघ -SWAN Nepal_ / SWAN Österreich को आर्थिक सहयोगमा हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित छत्यालबाडा र बाहुनवाडा टोलमा गाउँस्तरीय मिल सञ्चालनमा आएको छ । स्थानीय नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त मिल सोमबार गाउँवासीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

मिलको हस्तान्तरण SWAN Nepal का सामाजिक परिचालक दन्तराज कटुवालले स्थानीय समुदायका प्रतिनिधिलाई गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा गाउँवासीको उपस्थिति रहेको थियो । तुम्च क्षेत्रमा यसअघि पानीघट्टको सुविधा नहुँदा स्थानीय बासिन्दाले दैनिक उपभोगका लागि आवश्यक मकै, गहुँ, कोदो लगायतका अन्न पिस्न छिमेकी मुगु जिल्लाको लिब्रु र गल्फागाडसम्म पुग्नुपर्ने बाध्यता थियो । लामो दूरी, समय र अतिरिक्त खर्चका कारण स्थानीय नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए ।

गाउँमै मिल सञ्चालनमा आएपछि अब स्थानीयले आफ्नै गाउँमा सहज रूपमा पिठो पिस्न पाउने भएका छन । यसबाट समय, श्रम र खर्चको बचत हुनुका साथै ग्रामीण जीवनयापन थप सहज बन्ने विश्वास गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक परिचालक दन्तराज कटुवालले समुदायको आवश्यकता पहिचान गरी स्थानीयको जीवनस्तर सुधारमा सहयोग पुग्ने उद्देश्यले मिल स्थापना गरिएको बताउनुभयो । उहाँले यसको संरक्षण, नियमित सञ्चालन र दीगो व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । सो मिला गाउँबासीलाई हस्तान्त्रण गरिएपछि स्थानिय प्रति किलो सात रुप्रयाका दरले कुटानी पिसानी गर्न पाउने भएको छन । यस क्षेत्रका अन्य मिलहरुले प्रति किलो १० रुपैयाँ लिने गरेका छन भने सो मिलहरुमा पिठो पिस्दा वा चामल कुट्दा प्रति किलो ३ रुपैयाँले कम पर्ने भएको छ ।

स्थानीय बासिन्दाले गाउँमै यस्तो सुविधा उपलब्ध गराएकोमा SWAN Nepal / SWAN Österreich प्रति आभार व्यक्त गरेका छन्। उनीहरूका अनुसार मिल सञ्चालनमा आएपछि महिलाहरू, ज्येष्ठ नागरिक तथा दैनिक मजदुरी गर्ने परिवारलाई सबैभन्दा बढी राहत पुग्नेछ । स्थानीयवासीका अनुसार गाउँमै सेवा उपलब्ध भएपछि अब अन्न पिस्नका लागि अर्को जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। यस प्रकारका सामुदायिक पूर्वाधारले दुर्गम क्षेत्रका नागरिकको जीवन सहज बनाउनुका साथै ग्रामीण विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     ११ श्रावण २०८३, सोमबार १७:४४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *