हुम्लामा ट्राफिक कारबाहीबाट रु. २ लाख ८० हजार राजश्व संकलन


जिल्ला ट्राफिक कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय ३९ वटा सवारी साधनका चालकलाई कारबाही गर्दै रु. २ लाख ८० हजार जरिवाना राजश्व संकलन गरेको जनाएको छ । कार्यालयका अनुसार ट्राफिक नियम विपरीत सवारी सञ्चालन गर्ने चालकलाई ट्राफिक व्यवस्थापन तथा प्रचलित कानुनअनुसार कारबाही गरिएको हो । आर्थिक वर्षभर गरिएको अनुगमनका क्रममा विभिन्न किसिमका ट्राफिक उल्लङ्घन भेटिएपछि चालकहरूलाई जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०८२/८३ मा भने ३ सय ७० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । जसमा रु. ३ लाख १६ हजार राजश्व सरकारी बैंक खातामा दाखिला हुन बाँकी रहेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कारबाही हुने सवारीको संख्या तथा राजश्व दुवै घटेको देखिएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्यामा पनि उल्लेख्य कमी आएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३८ हजार ४ सय ८६ जना चालकलाई कारबाही गरिएको थियो । तर आर्थिक वर्ष २०८२/८३ मा यस्तो कसुरमा ३ जना चालक मात्र कारबाहीमा परेका छन् । उनीहरूबाट रु. १ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

टफिक कार्यालय प्रमुख प्रहरी सहायक हवल्दार रमेश बहादुर शाहीका अनुसार यस वर्ष ट्राफिक नियमप्रति चालकको सचेतना बढ्दै गएको, नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले नियम उल्लङ्घनका घटना घटेका हुन्। त्यसैले अघिल्लो वर्षको तुलनामा जरिवाना तथा राजश्व संकलन पनि कम भएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक कार्यालयले आगामी दिनमा पनि सुरक्षित, अनुशासित र जिम्मेवार सवारी सञ्चालनका लागि नियमित चेकजाँच, जनचेतना कार्यक्रम तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मितिः     १० श्रावण २०८३, आईतवार २१:०४  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *