जिल्ला प्रशासन कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका प्रमुख कार्य, सेवा प्रवाह तथा नयाँ कार्यक्रमहरूको प्रगति विवरण पहिलो पटक सार्वजनिक गरेको छ ।
जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा कार्यालयले वर्षभरि प्रदान गरेका सेवाहरू र आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने योजनाबारे जानकारी दिएको हो । प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्षभर ८ सय १३ जनालाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको छ भने इलाका प्रशासन कार्यालय सर्केगाडबाट १ हजार ४ सय ७६ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट ९ सय २१ र इलाका प्रशासन कार्यालय सर्केगाडबाट १ हजार १ सय ४६ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ। आमाको नामबाट वंशजको आधारमा १ जनालाई नागरिकताको प्रमाणपत्र जारी गरिएको छ भने २ जनाले अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कुल ११ वटा मुद्दामध्ये ५ वटा फछ्र्यौट भइसकेका छन् भने ६ वटा मुद्दा अझै प्रक्रियामा रहेका छन् । बाँकी मुद्दामध्ये सार्वजनिक शान्ति तथा सवारी साधनसँग सम्बन्धित मुद्दा रहेका जनाइएको छ । सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरी २ हजार ४ सय ६४ वटा नयाँ सीमापास जारी गरिएको छ भने १ हजार ४ सय ३९ वटा सीमापास नवीकरण गरिएको कार्यालयले जनाएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ७ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । त्यस्तै, राहदानी सेवातर्फ ३ सय ६५ वटा आवेदन संकलन गरिएको र ३ सय ५४ वटा राहदानी वितरण गरिएको जानकारी दिइएको छ ।
राष्ट्रिय परिचयपत्रतर्फ २ हजार ८ सय ८२ वटा कार्ड वितरण गरिएको छ भने नाबालक परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट ७५ र इलाका प्रशासन कार्यालय सर्केगाडबाट २९ वटा जारी गरिएको छ । विभिन्न प्रकारका सिफारिस जिल्ला प्रशासन कार्यालयबाट ३ सय ७३ र इलाका प्रशासन कार्यालय सर्केगाडबाट ३ सय ७२ वटा जारी गरिएका छन् । यस अवधिमा ५ वटा संस्था दर्ता तथा ८ वटा हातहतियारको इजाजतपत्र नवीकरण गरिएको पनि कार्यालयले जनाएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले नाम्खा गाउँपालिकाका हिल्सा, यारी, तुमकोट र यालवाङमा अस्थायी सीमापास शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शिविरमार्फत ५८ जनालाई नयाँ सीमापास र ३ सय ४२ जनाको सीमापास नवीकरण गरी जम्मा ४ सय जनालाई सेवा प्रदान गरिएको थियो ।
प्रगति विवरण सार्वजनिक कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले चंखेली गाउँपालिका–५ नेप्काका नागरिकलाई लक्षित गरी पनि अस्थायी सीमापास शिविर सञ्चालन गर्न माग गरेका छन्। साथै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई अझ सहज, सरल, छिटोछरितो र नागरिकमैत्री बनाउन आवश्यक पहल गर्न पनि आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाले पहिलो पटक सार्वजनिक रूपमा वार्षिक प्रगति विवरण प्रस्तुत गरेको हो ।
