रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार बिहान भोटेकोसी नदीमा आएको ठूलो बाढीपछि हुम्लाका दुई जना सम्पर्कविहीन भएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–१, गोप्का निवासी अनिता रावत र उनका श्रीमान जनक बुढा रसुवाको टिमुरे क्षेत्रमा बस्दै आएका थिए । उनीहरू विगत करिब चार वर्षदेखि रसुवामा ज्याला मजदुरी गर्दै आएको उनका आफन्त सिमकोटका भिम रोकायाले बताउनु भयो ।
बुधबार बिहान भोटेकोसी नदीमा आएको ठूलो बाढीले टिमुरे, रसुवागढी तथा स्याफ्रुबेँसी आसपासका क्षेत्रमा क्षति र्पुयाएको खबर सार्वजनिक भएपछि उनीहरूका आफन्तमा चिन्ता बढेको हो। बाढी आएको समयदेखि नै अनिता रावत र जनक बुढासँग सम्पर्क हुन नसकेको आफन्त रोकायाले बताउनु भयो । उनीहरूको मोबाइलमा सम्पर्क गर्दा फोन बन्द रहेको बताइएको छ । बाढीपछि उनीहरू कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको परिवारजनको भनाइ छ ।
हुम्ला घर भई रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका अन्य केही व्यक्तिसमेत रहेको बताइए पनि उनीहरूको सम्पर्क नम्बर तथा अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन सकेको छैन । सिमकोट गाउँपालिकाका भीम रोकायाका अनुसार बाढीको खबरपछि हुम्लाका आफन्तहरूले टिमुरे क्षेत्रमा रहेका आफ्ना परिवारका सदस्यहरूको अवस्थाबारे जानकारी लिन खोजिरहेका छन् तर निरन्तरको प्रयासका बाबजुद सम्पर्क हुन नसक्दा आफन्तहरू थप चिन्तित बनेका छन् ।
बाढीबाट रसुवाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुगेको खबरसँगै स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार र खोजी कार्य अघि बढाइरहेका छन् सम्पर्कविहीन भनिएका हुम्लाका नागरिकको अवस्थाबारे पनि सम्बन्धित निकायमार्फत तत्काल खोजी तथा आवश्यक समन्वय गरिदिन परिवारजनले आग्रह गरेका छन् ।
