हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर घण्टौँसम्म लाइन बस्न बाध्य भएका छन् । लामो समयदेखि नियमित रूपमा ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकाम समेत रहेको सिमकोट बजार क्षेत्रमा ग्यास पाउन उपभोक्ताबीच प्रतिस्पर्धा समेत बढेको छ ।
बिहीबार बिहान नेपालगन्जबाट सिमकोटस्थित आदित्य जनरल स्टोरमा १ सय ५० वटा भरिएका ग्यास सिलिन्डर आइपुगे पनि ग्यास लिनका लागि २ सय ७० भन्दा बढी खाली सिलिन्डर लाइनमा राखिएको र मागको तुलनामा आपूर्ति झण्डै आधा मात्र भएपछि सबै उपभोक्ताले ग्यास पाउने अवस्था नरहेको आदित्य जनरल स्टोरका प्रोप्राइटर रेसम महतले बताउनुभयो । “१ सय ५० वटा सिलिन्डर आएको छ, तर लाइनमा २ सय ७० भन्दा बढी खाली सिलिन्डर छन्,” महतले भन्नुभयो, “आवश्यकताभन्दा कम ग्यास आएकाले सबैलाई पुग्ने अवस्था छैन।”
ग्यासको अभाव लम्बिदै गएपछि कतिपय उपभोक्ता बिहानै खाली सिलिन्डर लिएर सिमकोट बजार पुगेका छन् । तर, सीमित संख्यामा मात्र ग्यास आएपछि आफ्नो पालो आउने हो कि होइन भन्ने अन्योलसमेत उपभोक्तामा देखिएको छ । सोही लाइनमा बसेको स्थानीय ऐटन रावलका अनुसार लामो समयदेखि ग्यासको अभाव भइरहेका बेला एकैपटक सीमित मात्रामा सिलिन्डर आएपछि उपभोक्ताको भीड बढेको बताउनु भयो उहाँका अनुसार हुम्लामा सडक तथा हवाई यातायातबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने भएकाले आपूर्ति प्रणालीमा समस्या आउँदा त्यसको प्रत्यक्ष असर हामी उपभोक्ताले भोग्नुपरेको छ ।
हुम्लामा ग्यासको नियमित आपूर्ति नहुँदा कतिपय परिवारले खाना पकाउन दाउरा तथा अन्य वैकल्पिक इन्धन प्रयोग गरिरहेका छन् । विशेषगरी सिमकोट बजार क्षेत्रमा बसोबास गर्ने परिवारका लागि दाउरा ल्याउन त्यती सहज छैन ।स्थानीय नागरिकका अनुसार बजारमा लामो समयसम्म ग्यास नआउँदा दाउरा खोज्न र खरिद गर्नसमेत समस्या हुने गरेको बताएका छन् । ग्यास अभावका कारण दैनिक उपभोगमा अतिरिक्त खर्च बढ्नुका साथै खाना पकाउने जस्तो आधारभूत आवश्यकतामै समस्या उत्पन्न भएको उपभोक्ताको गुनासो छ ।
आज मात्र हुम्लामा आइपुगेका एउटा भरिएको सिलिन्डरको मूल्य ३ हजार २ सय रुपैयाँ पर्ने भएको तर, हालै आइपुगेका भरिएका सिलिन्डर भने तत्काल वितरण नगरिने व्यवसायी महतले बताउनु भयो । सिमकोटमा पर्याप्त मात्रामा ग्यास आइपुगेपछि मात्रै ती सिलिन्डर वितरण गर्ने तयारी गरी रहेका बताउनुभयो । अहिले लाइनमा रहेका उपभोक्ताले तत्कालै पर्याप्त ग्यास पाउने अवस्था अझै सुनिश्चित भइनसकेको र सीमित संख्यामा मात्र ग्यास आएको कारण केही दिन रोक्नु पर्ने अवस्था आएको बताउनु भयो ।
हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन । भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ । तर, ग्यासजस्तो अत्यावश्यक वस्तुमा लामो समयसम्म अभाव दोहोरिनु र आएको सीमित ग्यासका लागि सयौँ उपभोक्ता लाइनमा बस्नुपर्ने अवस्थाले जिल्लाको आपूर्ति व्यवस्थापन माथि प्रश्न समेत उठेको छ ।
उपभोक्ताले ग्यास कहिले आउने भन्ने अनिश्चितता अन्त्य गर्न हुम्लाको वास्तविक मागअनुसार नियमित कोटा निर्धारण, ढुवानी व्यवस्थाको सुनिश्चितता र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकाय तथा व्यवसायीसँग माग गरेका छन् ।
तत्काल पर्याप्त मात्रामा एलपी ग्यास आपूर्ति गरी उपभोक्ताले खाली सिलिन्डर बोकेर दिनभर सडकमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
