रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चंखेली गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो पारिश्रमिकबाट केहि रकम सहयोग गर्ने निर्णय गरेको छ ।
गत भदौ १० गते बुधबार भोटेकोसी नदीमा आएको बाढीले रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्धमा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनु भयो । उहाँका अनुसार अध्यक्ष र उपाध्यक्षको मासिक सेवा सुविधाबाट १० दिन बराबरको रकम, वडा अध्यक्षबाट ७ दिन, कार्यपालिका सदस्यबाट ४ दिन र वडा सदस्यबाट २ दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताउनु भयो ।
यस्तै, गाउँपालिकाका विभिन्न शाखामा कार्यरत राष्ट्रसेवक कर्मचारीबाट समेत संघीय सरकारले तोकेको मापदण्डअनुसार तलब तथा पारिश्रमिकबाट सहयोग गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने बताउनु भयो ।
यसैबीच, चंखेली गाउँपालिका–१ का वीरबहादुर ऐडी, मञ्जित बुढा, दिनेश बुढा र तिल बुढा रसुवा जिल्लाको हाइड्रोपावरमा काम गर्दै आएको अवस्थामा बाढीमा परेका थिए । उनीहरूलाई नेपाल सरकारले उद्धार गरी शिविरमा राखेको भए पनि घर फर्कन नसकेको अवस्थामा उनीहरूलाई घरसम्म फर्काउन आवश्यक पर्ने गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने र खाद्यान्न लगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक महानुभाव तथा संघसंस्थालाई सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरी सहयोग गर्न पनि अध्यक्ष शाहीले आवाहान् गर्नु भयो ।
गाउँपालिकाले विपद्को कठिन घडीमा नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच एकता, निरन्तर सहयोग र सहकार्यको भावना अझ मजबुत बनाउन सबैमा आग्रह समेत गर्नु भयो ।
