ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण सम्पन्न


 स्वास्थ्य क्षेत्रमा हरेक वर्ष बजेट खर्च हुँदै आएको छ। स्वास्थ्य संस्था, औषधि, उपकरणदेखि विभिन्न कार्यक्रमका लागि सार्वजनिक स्रोत परिचालन भइरहेका छन्। तर, त्यसको प्रतिफल नागरिकले कति पाए ? स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा कति सुधार आयो ? यही प्रश्नको जवाफ खोज्दै ताँजाकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा सामाजिक परीक्षण गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाह, उपलब्धि र कार्यान्वयनको अवस्थामाथि समीक्षा गरिएको हो। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगति र त्यसबाट प्राप्त उपलब्धिका विषयमा छलफल गरिएको स्वास्थ्य संयोजक रामलाल देभकोटाले बताउनु भयो ।

सामाजिक परीक्षणका क्रममा स्वास्थ्य क्षेत्रमा भएको सरकारी लगानी र त्यसबाट नागरिकले प्राप्त गरेको सेवाबीचको सम्बन्धलाई समेत मूल्याङ्कन गरिएको थियो। बजेट खर्च र कार्यक्रम सञ्चालनलाई मात्र उपलब्धिको आधार नबनाई त्यसको प्रभाव नागरिकको स्वास्थ्य सेवामा कस्तो परेको छ भन्ने विषयलाई प्राथमिकतामा राखिएको गाउँपालिकाको भनाइ छ।

कार्यक्रममा स्वास्थ्य सेवा सञ्चालनका क्रममा देखिएका समस्या, सेवा प्रवाहमा रहेका चुनौती तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो। स्वास्थ्य सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक सुधारका विषय पहिचान गर्ने प्रयास गरिएको हो।

समीक्षासँगै गाउँपालिकाको स्वास्थ्य शाखामा रहेका जिन्सी सामग्रीको स्थलगत निरीक्षणसमेत गरिएको छ। सरकारी बजेटबाट खरिद गरिएका स्वास्थ्य सामग्रीको अवस्था, प्रयोग, संरक्षण तथा व्यवस्थापनबारे प्रत्यक्ष रूपमा जानकारी लिइएको हो।

स्वास्थ्य सामग्री खरिद गरेर मात्र सार्वजनिक लगानीको उद्देश्य पूरा नहुने भएकाले ती सामग्री नियमित रूपमा प्रयोगमा छन् कि छैनन्, आवश्यकताअनुसार स्वास्थ्य संस्थामा पुगेका छन् कि छैनन् र उचित संरक्षण भइरहेको छ कि छैन भन्ने विषयलाई समेत निरीक्षणमा समेटिएको थियो।

सार्वजनिक लगानीको प्रभावकारिता मापन गर्दा बजेट कति खर्च भयो भन्ने तथ्यसँगै त्यसबाट नागरिकले कस्तो सेवा पाए भन्ने विषय महत्वपूर्ण हुने भएकाले सामाजिक परीक्षणलाई स्वास्थ्य क्षेत्रको जवाफदेहिता बढाउने माध्यमका रूपमा लिइएको गाउँपालिकाले जनाएको छ।

आगामी दिनमा स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित बनाउने, नागरिकको पहुँच बढाउने र सेवा प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै जाने विषयमा पनि कार्यक्रममा प्रतिबद्धता जनाइएको थियो।

गाउँपालिका सामाजिक विकास समिति संयोजक राजबहादुर बोगटीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रकाशित मितिः     २७ भाद्र २०८३, शनिबार २१:१२  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *