गुरा देवताको पूजाका लागि मुख्यमन्त्री शाही गृहपालिका पुगे ।


कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही मुगुको सोरु गाउँपालिका–३ भिईमा लाग्ने प्रसिद्ध गुरा देवताको मेलामा सहभागी हुन आज गृहजिल्ला मुगु पुग्नु भएको छ ।

मुख्यमन्त्री शाही सुर्खेतबाट हिजै गाडीमार्फत कर्णाली करिडोर हुँदै मुगुतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ कर्णाली करिडोरको सडक मार्फत हुम्लाहुँदै दिउसो साढे २ बजे भिई पुग्नु भएको मुख्यमन्त्रीका प्रेस संयोजक गणेशकञ्चन भारतीले बताउनु भयो ।

भिईमा आज नवमीको अवसरमा गुरा देवताको विशेष पूजाआजा तथा मेला लाग्दैछ । उक्त मेलामा गुरा देवताको दर्शन तथा पूजाआजाका लागि मुगुका विभिन्न क्षेत्रसँगै हुम्लाको अदानचुली, ताँजाकोट लगायतका ठाउँबाट समेत श्रद्धालुहरू पुग्ने गर्छन् ।
मुख्यमन्त्री शाही मुगुको सोरु गाउँपालिका–६ सोरुकोट निवासी हुनुहुन्छ । मुख्यमन्त्री बनेपछि उहाँ पहिलोपटक आफ्नो घर तथा गृहजिल्ला पुग्नुुभएको हो । यद्यपि, यसपटक उहाँको जिल्ला सदरमुकाम गमगढी पुग्ने कुनै कार्यक्रम नरहेको उहाँनिकट लालु धामीले बताउनुभयो ।

भिईमा लाग्ने गुरा देवताको मेला स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आज साँझदेखि भोलि दिउँसोसम्म भव्य रूपमा धाम लाग्ने छ ।

सोरु गाउँपालिकाका अधिकांश स्थानीयवासी गुरा देवतालाई आफ्नो परम्परागत ‘कर’ अर्थात अनिवार्य धार्मिक दायित्वका रूपमा लिँदै मेलामा सहभागी हुने गरेको धामीले बताउनुभयो । यही धार्मिक परम्परा र पूजाआजामा सहभागी हुन मुख्यमन्त्री शाही पनि भिई आउनु भएको उहाँले बताउनु भयो ।

मुख्यमन्त्रीको भिई भ्रमणमा कुनै औपचारिक राजनीतिक कार्यक्रम नरहेको र यो मुख्यतः गुरा देवताको पूजाआजामा सहभागी हुने धार्मिक तथा पारिवारिक भ्रमण रहेको बताइएको छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     ४ आश्विन २०८३, आईतवार १६:२३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *