नेपाली कांग्रेस अदानचुली गाउँ कार्यसमितिको १५औँ अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
अदानचुली गाउँ कार्यसमितिका सभापति विष्णु भण्डारीको अध्यक्षता तथा जिल्ला सभापति एवं अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा बुधबार विपी स्मृति भवनमा उद्घाटन सत्र सम्पन्न भएको हो । उद्घाटन सत्रलगत्तै बन्द सत्र सुरु भएपनि १० जना भन्दा धेरै देखिएपछि छलफल गर्नु पर्ने भएकाले आजलाई स्थगीत गरी भोली विहानबाट ६ बजेबाट सुरु गर्ने गरी स्थगीत गरिएको जनाइएको छ । अधिवेशनले आगामी चार वर्षका लागि गाउँ कार्यसमितिको नयाँ नेतृत्व चयन गर्नेछ ।
उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा जिल्ला कार्यसमितिका सदस्य तथा अन्य नेताहरूले समेत विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। गाउँ कार्यसमितिको सभापतिका लागि मात्रै एक दर्जनभन्दा बढी आकांक्षी देखिएका छन्। अधिवेशनलाई महासमिति सदस्य रामबहादुर टमटा, प्रदेश निर्वाचन क्षेत्रीय उपसभापति शेरबहादुर बुढा, नेकपा एमाले गाउँ कमिटी इन्चार्ज धनजित परियार, जिल्ला कार्यसमितिका सदस्यलगायत विभिन्न भ्रातृ संगठनका प्रमुखहरूले शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला सभापति मोहनविक्रम सिंहले पद प्राप्तिका लागि मात्र नभई पार्टीमा इतिहास रच्ने गरी तयारीका साथ उम्मेदवारी दिन आग्रह गर्नुभयो । आफू २० वर्ष पार्टी सचिव र पाँच वर्ष जिल्ला सभापति भएर काम गरेको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वमा पार्टीका लागि उल्लेखनीय काम भएको दाबी गर्नुभयो ।
यस्तै, निवर्तमान गाउँ सभापति विष्णु भण्डारीले आफूले करिब छ महिनाअघि नै पुनः सभापति नदोहोरिने घोषणा गरिसकेको बताउनुभयो। अब जुझारु र सहनशील नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको उहाँको भनाइ छ । आफ्नो कार्यकालमा विभिन्न काम सम्पन्न भए पनि केही काम अधुरा रहेको उल्लेख गर्दै भण्डारीले ती कामको जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गरेर जाने बताउनुभयो। अदानचुली कांग्रेसको नयाँ नेतृत्व चयन आजकै बन्द सत्रबाट हुने जनाइएको छ।
यस्तै नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सिमकोट गाउँ कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट गाउँ कार्यसमितिको सभापतिमा बलबिर शाही चयन हुनुभएको छ । यस्तै उपसभापतिमा कुल रावत र बाँगा बोहरा (महिला), सचिवमा चुमन बोहरा, सहसचिवमा उपेन्द्र शाही चयन हुनुभएको छ ।
अधिवेशनबाट पदाधिकारीसहित २१ सदस्यीय गाउँ कार्यसमिति चयन भएको जनाइएको छ । नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै गाउँपालिकाका सबै वडामा कांग्रेसको संगठन विस्तार र सक्रियता बढाउने जनाएको छ ।
