कर्णालीको विगत, वर्तमान अवस्था, उपेक्षा र सम्भावनालाई समेटेर लेखिएको ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तकबारे कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिचर्चा गरिएको छ । पुस्तकले कर्णालीको वास्तविक अवस्था उजागर गर्दै विकास र समृद्धिको सम्भावना खोज्न प्रेरित गरेको छ ।
हुम्लाका डा. दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित उक्त पुस्तक बिहीबार आयोजित कार्यक्रममा लेखकद्वयले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीलाई हस्तान्तरण गरीएको लेखक रोकायाले बताउनु भयो । पुस्तकमाथि आफ्नो धारणा राख्दै मुख्यमन्त्री शाहीले लेखकद्वयले तथ्य र प्रमाणसहित कर्णालीका १७ लाख नागरिकको भविष्य चित्रण गर्न खोजेको बताउनुभयो । पुस्तकले कर्णालीको सम्भावना पहिचान गरी त्यसअनुसार काम गर्ने प्रेरणा दिएको उल्लेख गर्दै उहाँले कर्णालीलाई चिन्न र बुझ्न पुस्तक अध्ययन गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहीले ‘कस्तुरीसँग बिना हुन्छ, लेखकद्वयले कर्णालीको त्यही बिना चिनाउनुभएको छ, । यो पुस्तक प्रचारप्रसारका लागि प्रदेश सरकारसमेत तयार रहेको बताउनु भयो । मुख्यमन्त्री शाहीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएको चार महिनाको अवधिमा एक संशोधित विधेयकसहित पाँचवटा कानुन प्रदेशसभामा पेस गरेको, पुँजीगत खर्च बढाउन र राजस्वको दायरा फराकिलो बनाउन पहल भइरहेको समेत बताउनु भयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत कर्णालीबाट सभ्य र सकारात्मक सन्देश दिन सरकार लागिरहेको पनि उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीम केसीले पुस्तकले लामो समयदेखिको आफ्नो हुटहुटीलाई समेटेको बताउँदै कर्णालीको विकास र समृद्धिका लागि यस्ता प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । लेखक डा. दीपेन्द्र रोकायाले पुस्तकमा कर्णालीको उपेक्षाको श्रृंखला, प्रदेशको अवस्था, विकासको खोजी, गन्तव्य, समृद्धिका सूचक, संघीयताका उपलब्धि र बहसका मुद्दाहरू समेटिएको बताउनुभयो । उहाँले विशेषगरी कर्णालीको दुर्गम जिल्ला हुम्लाबाट सडकमार्ग हुँदै एकै दिन सुर्खेत र संघीय राजधानी काठमाडौं पुग्न सक्ने यातायात सञ्जाल निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । हिमाली पर्यटकीय सडक निर्माणलाई समेत प्राथमिकता दिनुपर्ने उहाँको जोड दिनु भयो ।
अर्का लेखक मोहनदास मानन्धरले कर्णालीसँग आफ्नो सम्बन्ध चिसापानी जलविद्युत्त आयोजना निर्माणको बहससँगै जोडिएको स्मरण गर्नुभयो । सोही आयोजनाका कारण सयौँ विद्यार्थीले अध्ययनको अवसर पाएको उल्लेख गर्दै उहाँले चिसापानी आयोजना निर्माण हुन नसके पनि अहिले तिला लगायतका जलविद्युत्त आयोजनामा आफू जोडिएर काम गरिरहेको बताउनुभयो । कर्णालीमा सम्भावनाका ढोका खुल्दै गएको भन्दै त्यसलाई व्यवहारमा उतार्न प्रदेश सरकारले अग्रसरता लिनुपर्ने उहाँको भनाइ थियो ।
आरम्भ प्रकाशनबाट प्रकाशित पुस्तकको परिचर्चा कार्यक्रम कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कर्णाली प्रदेश योजना आयोगको समन्वयमा आयोजना गरिएको हो । –––कालीबहादुर थापा
