सरकारको दुई दिन बिदा दिने निर्णय चंखेली गाउँपालिकाले उल्टायो, अब आइतबार पनि विद्यालय खुल्ने


श्रीनगर । हुम्लाको चंखेली गाउँपालिकाले संघीय सरकारले लागू गरेको दुई दिने सार्वजनिक बिदा व्यवस्थालाई स्थानीय तहबाट परिवर्तन गर्दै अब आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै अबदेखि शनिबार मात्रै सार्वजनिक बिदा रहने र आइतबार नियमित रूपमा पठनपाठन सञ्चालन हुने जनाएको हो ।

गाउँ कार्यपालिकाको २०८३ वैशाख २६ गते बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि नेपाल सरकारले देशभरका सरकारी कार्यालय तथा विद्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो । तर हिमाली जिल्ला हुम्लाको भौगोलिक अवस्था, चिसो मौसम र शैक्षिक चुनौतीलाई आधार बनाउँदै चंखेली गाउँपालिकाले उक्त निर्णय स्थानीय स्तरमै परिवर्तन गरेको हो ।

गाउँपालिकाका अनुसार हुम्लामा हरेक वर्ष चिसो अत्यधिक बढ्ने भएकाले पुस र माघ महिनामा विद्यालय लामो समय बन्द गर्नुपर्ने अवस्था आउँछ। त्यसले गर्दा शैक्षिक सत्र पूरा गर्न कठिनाइ हुने, पाठ्यक्रम अधुरो रहने तथा विद्यार्थीको पढाइमा असर पर्ने समस्या देखिएको भन्दै अब सातामा ६ दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

जारी सूचनामा भनिएको छ, “हिमाली जिल्लाहरूमा जाडो मौसमका कारण पुस र माघ महिनामा विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै विद्यालयहरूको शैक्षिक सत्र पूरा नहुने अवस्था देखिन गएकोले विद्यार्थीहरूको शैक्षिक हितलाई ध्यानमा राखी आइतबार पनि पठनपाठन सञ्चालन गरिनेछ ।”

गाउँपालिकाको यो निर्णयसँगै अब चंखेली गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालय तथा शैक्षिक संस्थामा आइतबारदेखि नियमित कक्षा सञ्चालन हुनेछ । शनिबार मात्रै सार्वजनिक बिदा रहने व्यवस्था लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय स्तरमा यो निर्णयलाई धेरैले सकारात्मक रूपमा लिएका छन ्। अभिभावक र शिक्षा सरोकारवालाहरूले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न तथा समयमै पाठ्यक्रम सम्पन्न गर्न निर्णय प्रभावकारी हुने बताएका छन् । केही शिक्षकहरूले भने दुई दिने बिदाको अभ्यास हटाउँदा व्यवस्थापनमा केही चुनौती थपिन सक्ने प्रतिक्रिया दिएका छन् ।

विद्यालय सञ्चालन सम्बन्धी सूचना प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीद्वारा जारी गरिएको हो । गाउँपालिकाले सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न तथा नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । यता गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले हिमाली जिल्लाको पठन पाठन मंसिबाटै अबरुद्ध भएकाले यो कार्य सुरु गरिएको बताउनुभयो ।

प्रकाशित मितिः     २७ बैशाख २०८३, आईतवार १९:१७  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *