श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाका नागरिकहरूले डुवानी अनुदानको नुन प्राप्त गर्न १७ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको छ। आर्थिक वर्ष २०८१ को पुस महिनामा अन्तिम पटक बिक्री–वितरण गरिएको अनुदानको नुन २०८२ सालको जेठ महिनाको अन्तिम साता मात्रै पुनः वितरण हुन लागेको हो।
नियमित रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक उपभोग्य वस्तु नुन लामो समयसम्म नपाउँदा स्थानीय बासिन्दाहरू समस्यामा परेका छन्। दुर्गम भूगोल र सीमित बजार पहुँचका कारण अदानचुलीका अधिकांश नागरिक सरकारी अनुदानको नुनमै निर्भर रहने गरेका छन्। तर वितरण प्रक्रियामा भएको ढिलाइका कारण उनीहरूले महँगो मूल्यमा निजी बजारबाट नुन खरिद गर्न बाध्य भएको गुनासो गरेका छन्।
स्थानीयका अनुसार विगत डेढ वर्षभन्दा बढी समयसम्म अनुदानको नुन नआउँदा दैनिक जीवन प्रभावित भएको छ। विशेष गरी न्यून आय भएका परिवारहरू बढी मारमा परेका छन्।
अहिले जेठ महिनाको अन्तिम सातादेखि नुन वितरणको तयारी भए पनि यति लामो अन्तरालपछि मात्रै वितरण हुन लागेकाले नागरिकहरूले वितरण प्रणालीलाई नियमित र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
हुम्लाका विभिन्न स्थानीय तहमा नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत डुवानी अनुदानको नुन वितरण हुँदै आएको छ। जिल्लाका नागरिकले अनुदानको नुन प्रतिकिलो नौ रपैयाको सहुलियत दरमा खरिद गर्दै आएका छन्।
स्थानीयवासीले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी उपलब्ध गराइने अनुदानका सामग्री समयमै पुर्याउन सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन्। नुनजस्तो अत्यावश्यक वस्तुको आपूर्तिमा हुने ढिलाइले नागरिकको दैनिकीमा प्रत्यक्ष असर पर्ने भएकाले आगामी दिनमा नियमित वितरणको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
