नेप्काका बाढीपीडितलाई चङ्खेली आपतविपत कोषद्वारा राहत रकम सहयोग


श्रीनगर । चङ्खेली गाउँपालिका वडा नं. ५ नेप्कामा गत जेठ ५ गते आएको अविरल वर्षासँगैको बाढीबाट प्रभावित परिवारहरूलाई चङ्खेली आपतविपत कोषमार्फत राहत सहयोग प्रदान गरिएको छ ।

बाढीका कारण स्थानीयवासीका घर, जग्गा, खेतीयोग्य जमिन तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो । राहत रकम वडा नं. ५ का वडा अध्यक्ष हर्कधन तामाङ लाई पाढि पिडितका लागि ३१ हजार रुपैँया नेपाली कांग्रेस चंखेली गाउँ कार्यसमिति सचिव धिर बहादुर शाहीले हस्तान्तरण गर्नु भएको छ । वडा कार्यालयमार्फत उक्त सहयोग बाढीपीडित परिवारसम्म वितरण गरिने जनाइएको छ ।

चङ्खेली आपतविपत कोषका अध्यक्ष गणेश बहादुर शाही, जो हाल जापानमा बसोबास गर्दै आउनुभएको छ, उहाँ सहित १० जनाको पहल तथा सहयोगमा उक्त राहत रकम उपलब्ध गराइएको हो । विदेशमा रहेर पनि आफ्नो जन्मथलो र विपत्तिमा परेका नागरिकप्रति देखाउनुभएको संवेदनशीलता र सहयोगी भावनाको स्थानीयवासीले उच्च प्रशंसा गरेका छन् ।

विपत्तिको कठिन समयमा प्राप्त भएको यस सहयोगले बाढीपीडित परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ । स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई सहयोग गर्ने कार्य उदाहरणीय रहेको भन्दै अध्यक्ष शाहीप्रति आभार व्यक्त गरेका छन् ।

वडा अध्यक्ष हर्कधन तामाङले विपद्को समयमा सहयोग उपलब्ध गराएकोमा चङ्खेली आपतविपत कोष तथा अध्यक्ष गणेश शाही सहितका सहयोगीहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।

चङ्खेली आपतविपत कोषले गाउँपालिकाभित्र विभिन्न प्राकृतिक विपत्ति, आपतकालीन अवस्था तथा मानवीय संकटमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ। विपद्को समयमा एकअर्काप्रति सहयोग र सहकार्यको भावना आवश्यक हुने भन्दै कोषले आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मितिः     २१ जेष्ठ २०८३, बिहीबार १७:१३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *