हावाहुरीले उडायो विद्यालय भवनको छानो, पठनपाठन प्रभावित


श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ लौठीमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको भवनमा हावाहुरीका कारण क्षति पुगेको छ । बिहीबार अपरान्ह अचानक चलेको तीव्र हावाहुरीले विद्यालयको दुई कोठे भवनको छानो उडाएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयका शिक्षक विष्णुलाल जैसीका अनुसार जस्ता पाताले छाइएको भवनको छानो अत्यधिक वेगमा चलेको हावाहुरीले उचालेर भवनको माथिल्लो भागमा पल्टाइदिएको हो ।

हावाहुरीका कारण भवनको छानो आंसिक रूपमा क्षतिग्रस्त बनेको छ भने कक्षाकोठा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नियमित पठनपाठनमा प्रत्यक्ष असर परेको शिक्षक जैसीले बताउनुभयो । उहाँका अनुसार भवनको छानो उडाइएपछि शुक्रबारदेखि विद्यार्थीलाई खुला आकाशमुनि राखेर पढाउनुपर्ने बाध्यता सिर्जना भएको छ । वर्षायाम सुरु भइसकेको अवस्थामा विद्यालय भवनको छानो नहुँदा पठनपाठन सञ्चालन गर्न थप कठिनाइ हुने देखिएको छ ।

स्थानीयवासीहरूले पनि विद्यालयको भौतिक संरचनामा भएको क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा रहेको विद्यालय भएकाले तत्काल मर्मत सम्भार नगरिए विद्यार्थीको शैक्षिक गतिविधि लामो समयसम्म प्रभावित हुन सक्ने उनीहरूको भनाइ रहेको छ । हावाहुरीका कारण विद्यालयको भवनमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ । विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराई भवनको छानो मर्मत गर्न माग गरेका छन् ।

स्थानीय अभिभावकहरूका अनुसार विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले विद्यालय भवनको मर्मत कार्यलाई प्राथमिकतामा राख्न आवश्यक छ । वर्षायाममा खुला स्थानमा कक्षा सञ्चालन गर्न सम्भव नहुने भएकाले समयमै छानो मर्मत गरी विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूले आग्रह गरेका छन । विद्यालयको छानो उडेर पठनपाठन नै प्रभावित भएको अवस्थामा सम्बन्धित निकायले तत्काल पहल गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माण प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रकाशित मितिः     २१ जेष्ठ २०८३, बिहीबार १७:१०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *