छक्कबहादुर लामा ।
गएको ८ जेठ २०८३, को रातो पाटी अनलाईन पत्रिकामा नरेन्द्र रेउलेको वाइलाइनमा बाजुरा जिल्लाका पत्रकार प्रकाश सिंहको ‘बाजुरा–हुम्ला सिमा विवाद क्षेत्र तस्करीहरुको ट्रान्जिट प्वैंट हो’ भन्ने शिर्षकको अन्तरवार्तामा मेरो गम्भीर ध्यानाकर्षण भयो । केहि समययता हुम्ला–बाजुराको सीमा क्षेत्रको स्वामित्वलाई लिएर भएको विवादलाई प्राप्त प्रमाण, लामो समयदेखि चलि आएको प्रचलनका आधारमा यो समस्यालाई समाधान गर्नुको साँटो धरातलीय यर्थातता भन्दा निकै पृथक ढंगबाट जुन विषयलाई उचाल्ने, सञ्चार माध्यम र सामाजिक सञ्जालबाट भ्रम छर्ने काम भयो भन्ने ठहर मेरो हो । म सँग कुनै परामर्श नगरी ठूलो फोटो सहित ‘हुम्लाका पूर्व साम्सद छक्क बहादुर लामाले बाजुराको हिमाली गाउपालिका स्थित गुम्बाको स्कुलमा जटामसी पेल्ने मेसिन राखेकोमा हामीले त्यो बेला समाचार प्रकाशित गर्यो । गैरकानुनी रुपमा लामाले मेशिन राखेका थिए । समाचार छापे पछि उनले त्यो मेशिन त्याहाँबाट हटाए’ भनेर आफुलाई एक नम्बरको बहादुरी देखाएर त्यस प्रकारको भ्रमपूर्ण अन्तरवार्ता न्यूनतम पत्रकारिताको धर्म र सिद्धान्त भन्दा विपरित छ भन्ने निचोड मेरो हो । उक्त अन्तरवार्ता प्रकाशित गर्दाका बखत मेरो छोरा सिकिस्त बिरामी भएपछि म काठमाडौँ मेडिकेयर अस्पतालमा बिरामी कुरुवाका रुपमा बस्नु परेकोले मैले समयमै त्यसको खण्डन र वास्तविकता सार्वजनिक गर्न पाइन । अतः आज म त्यस भ्रमित अन्तरवर्तासहितको सामाग्रीको खण्डन र सीमा क्षेत्रको वास्तविकतालाई यहाँहरु समक्ष प्रस्तुत गर्न वाञ्छनिय ठानेको छु । बाजुरा जिल्लामा रहेर पत्रकारिता गर्ने प्रकाश सिंह एक गतिलो पत्रकार सत्ययत्थ्य र विषयवस्तुको धरातलमा गएर सामाचार संकलन तथा संप्रेषण गर्ने सञ्चारकर्मी हो भन्ने मेरो मानस्थपटलमा थियो र अहिले पनि छ । यद्यपी मलाई तस्कर करार गरेको दिएको अन्तरवार्ताले उहाँको पहिचान के हो भन्ने मूल्यांकन गर्ने जिम्मा स्वयम् उहाँलाई नै छोडेको छु ।
पत्रकारिता कुनै क्षेत्र, भेग, रंग, जात र वर्गको वादी भएर गर्न थालियो भने त्यसले समाजमा पार्ने असरको क्षतिपुर्ति कुनै ढंगले पनि गर्न सकिन्न भन्नेमा सायद प्रकाश जि आफैलाई पनि हेक्का हुनुपर्छ । बाजुरा र हुम्लाको सम्बन्ध सीमानाले मात्रै सिमित गरेको छैन् । यो एतिहाँसिक, साँस्कृतीक र सामाजिक हिसाबले परापूर्व कालदेखि नैं जोडिएको रोटीवेटी र घर परिवारको सम्बन्ध छ । त्यसमा खलल ल्याएर जुन रुपमा चर्काउन केहि साथीहरुले भूमिका खेल्नु भएको छ, त्यसको वास्तविकताले उहाँहरुलाई कालन्तरको परिणामले पोल्ने नैं छ ।
गुम्बामा प्रशोधन केन्द्र स्थापना र वास्तविकता
गएका ८।९ वर्ष अगाडि मैले बाजुराको गुम्वामा जडिवुटी प्रशोधन केन्द्र खोलीदा प्रकाश जि लगायतका साथीहरुले मेरो विरुद्धमा खेदो खन्ने निकै कोशिस गर्नुभयो । म वैधानिक् थिए । त्यहि बाजुरा जिल्लाकै घरेलु र वन कार्यलयबाट अनुमति लिएर स्थानीय वासीहरुसँग मिलेर मैले गुम्बामा २ वर्ष उद्योग चलाँ । बाजुराका सम्बन्धित सरकारी कार्यालयहरुबाट लिएका अनुमतिका कागजातहरु अँझै मसंग सुरक्षित छन् । त्यस्तो अबस्थामा तपाईले भनेको जस्तो म कसरि अबैध भएँ ? अनि गुम्बावासीहरुको अनुरोधमा मैले त्यहाँ एक सानो जडिबुटी प्रशोधन केन्द्र खोल्दा मैले त्यहाँको स्थानीय बासीहरु लगायत अन्य भोटे जनजातिहरुलाई छोटो समयको लागि भएपनि रोजगारी दिएँ । त्यसको निम्ति जिल्लाको एक बौद्धिक वर्गको नाताले तपाइले मलाइ धन्यवाद दिनुको सट्टा तपाईले सके जत्ति मेरो बदनाम गर्ने भरमक्दुर कोसिस गर्नु कुन पत्रकारिताको सिद्धान्त र धर्म थियो ? तर हुम्ला–बाजुराको विवादमा मेरो बदनाम गराउन पत्रकारिताको एजेण्ड सेटिङ थेउरीको भरमग्दुर प्रयोग गर्नु भएकोमा ढिला भएपनि म ई भएनि प्रकास जिलाई उल्टो धन्यवाद दिन चहान्छु ।
म हुम्ला बाजुराको सीमा क्षेत्र गुम्बामा पुग्नु अगाडी त्यहाँ बेथिति ढंगले जदिबुटीहरू संग्कलन गर्ने परिपाटी थियो । मैले त्यसलाई निरुत्साहित गर्ने कोसिस गरे । र त्यहाँ बाजुराको जिल्ला वन कार्यालयसँग गुम्बाको जनतालाई जोड्न सहजीकारण गरें । वनको उपभोक्ता समिति गठन गरेर थितिबन्द पनि बसाले । म कस्तो खालको नेता हो भन्ने कुरा कि त त्याहाँको भोटे जनजातिलाई थाहा छ । कि हुम्ली जनतालाई थाहा छ । बिस्तारै मैले शुरु गरेको उक्त उद्योग घाटामा जाना थाले पछि मैले त्यहाँबाट ठाउँ सारी गरेको वास्तविकताको गहिराईमा नगएर दोषी कराार गर्ने तपाईलाई केहि थाहा छ त ? अहिले त्यो उद्योगका मेशिनहरु कहाँ छन् ? भन्ने बारेमा । सम्बन्धित व्यक्तिलाई सोधर तथ्य भेरिफाई गर्ने पत्रकारिताको ए, वि, सी को सिद्धान्त तपाईको पत्रकारितामा लागु नहुने हो ? तर तपाईले हालै मात्र रातो पाटीमा मलाई तपाईको डरले भागेको भनी झुठो सूचना सम्प्रेषरण गर्न खोज्नु भएको छ । मलाई तस्करीको बिल्ला भिराउनु भएको छ । म त्यो प्रमाणीत गर्न विनम्रताका साथ चुनौती मात्र होइन आरोप प्रमाणीत भए म एक सार्बजनिक व्यक्ति भएको नाताले सार्वजनिक रुपमै मेरो नामै फेरी दिन्छु । होईन भने तपाईले बिना सित्तै सार्वजनिक रुपमा मेरो छ दशक लामो जीवनले कमाएको इज्जतमा जुन रुपमा दाग लगाउने काम गर्नु भएको छ । त्यसको मूल्य चुक्ता गर्न तपाई पनि तयार हुनुपर्छ ।
विकास खान भन्दा गर्नका लागि हो भन्ने तत्थ्यलाई स्थापित गर्ने सामाजिक तथा राजनीतिक अभियानताका रुपमा मैले आम जनताको रोजीरोटीको निम्ति हुम्लामा पर्यटन विकास, यार्चागुन्बू लगायत जडिबुटीको संरक्षण, निकासी तथा पैठारी, आपतकालीन खाद्यन्न सहायेग कार्याक्रम, यो क्षेत्रका पर्यटकीय संभावना बोकेका क्षेत्रहरु लिमि लाब्चा र रानीखर्क लगायतका ठाउँमा सडक सञ्जालको आधारशिला खडा गर्ने काममा लागेको प्रमाणका बारेमा बुझ्ना एक पटक हुम्लाका गाउँमा पुगेर बुभ्mन अनुरोध छ । विवादीत बनाइएको रार्नखर्क (रानीसैन) क्षेत्रको पर्यटन र जडिबुटी विकास सम्बन्धि अध्ययन गर्ने र तत् सम्बन्धि कार्या थालनी गर्ने थोरै व्यक्तिको सूचीमा मपनि पर्छु । गुम्बाको नजिक, जुम्ली जुम्ली साँगुमा झोलुङ्गे पुल लगाउने परिबन्ध मिलाउने व्यक्ति पनि मै हुँ भन्नेमा कसैको फरक मत छ भने खmुा बहस गर्न म तयारै छु ।
म रानिखर्क (रानीसैन) क्षेत्र र त्यहाँ आश्रीत भोटे जनजाती बारे अध्ययन गरेको व्यत्तिः हुँ । पटक–पटक पुगी त्यहाँको विकास–निर्माणमा चासो राख्दै आएको एक जिउदो सक्षी पनि हुँ । त्यहाँको चरन क्षेत्र बारे हुम्लाको चाला, खगालगाउँ र त्यती खेरको हुम्ली तथा हालका बाजुरावासी भनिएका भोटे जनजातिहरु बीच हुम्ला जिल्ला अदालतमा चलेको मुद्दाको मिलापत्र गराउने सहजकर्ताको भूमिका खेल्ने व्यक्ति पनि म हो ।
प्रथम त, म हुम्ली खम्पा वा दंगाली खम्पा भन्ने घुमन्ते जनजातिको अध्ययन गर्न रानिखार्कमा सन् १९९७ मापुगेको थिएँ । त्यत्ति खेर म केवल १९ वर्षको मात्र थिएँ । त्यो आज भन्दा ४९ वर्ष पहिलेको कुरा हो । जुनबेला बाजुराको कोल्टीमा बर्खरै राविसे (राष्ट्रिय विकास सेवा)ले त्यहाँको कोल्टी हाइस्कुल बनाउने शुरसार गर्दै थिए । हुम्लाको सिमिकोट विमानस्थलमा बिमानको उडान त्यहि बेला अर्थात वि.सं.२०३४ सालमा पहिलो पटक भएको हो ।
रानिखर्क क्षेत्रमा जडिबुटी संकलनको थालनी त सन् १९९७ बाट मात्र शुरु भएको हो । त्यो आजभन्दा ठिक २९ वर्ष अगाडी हो । मैले हुम्लामा जैविक विविधता संरक्षण तथा दिगो आयआर्जन सम्बन्धि आयोजना संचालनमा ल्याएपछि मात्र जडिबुटी सम्बन्धि प्राकृतिक स्रोत र शाधनको दिगो उपयोग, त्यसको दिगो व्यवस्थापन बारे हाम्रो क्षेत्रका मानिसहरुमा सचेतना जाग्न गएको यर्थातताबाट किञ्चित दिग्भ्रमीत पार्ने का मगर्न हुन्न । त्यस अगाडी हुम्लामा कटुकी (कुट्की) र हाते जडी बाहेक अन्य जडिबुटी बारे मानिसहरुमा खासै जानकारी नैं थिएन । पाँचऔले निषेधित जडिवुटीमा पर्दथ्यो । कुट्की भने जुम्लाको बारकोटेहरुले ल्याएर आएका फलामसँग साँट्थे ।
जुम्लीले पिठ्युमा बोकेर ल्याएको फलामले कृषि औजारका रुपमा प्रयोग हुने सामाग्री निर्माण गर्नका लागि हाम्रा नगारिकले जंगलको कुट्कीसँग साँट्थे । जटामसीको हकमा भने हुम्लीहरुको निम्ति एकदम नयाँ थियो । बर्षायाममा भेडा गोठालाहरुले र खर्कालाहरुले आफ्ना पशुवस्तुलाई पाटन र झार जंगलहरुमा घाँस खुवाई सकेपछि र त्यसमा पनि शिकारीहरुले ती जडिबुटी हुने घाँसे ठाउँहरुमा पछिल्लो सालमा घाँस राम्रो उम्रने मान्यताले आगो लगाउने चलन यो भेगमा व्यप्त थियो ।
‘जडिबुटी भने को नगदे बलि झैँ हो, यसबाट पैसा आउँछ । आगो लगाउनु हुन्न’ भनि आम जनतालाई प्रशिक्षण दिने कामको थालनी मैले मेरो अफिस ‘हुम्ला समक्षण तथा विकास’ नामक गैर सरकारी संस्थाबाट शुरु गरेको हुँ । पछि हाम्रो फ्याट्री शुरु गरेपछि सबै भन्दा पहिला जटामसी किलोको रु २५ रुपैयाँ मूल्य निर्धारण गरेर खरिद गरें । त्यसपछि बल्ल जटामसीले नगदे मालको रुप धारण गरेको हो । त्यसपछि यसको प्रभाव बिस्तारै रानीखर्क र बाजुरा जिल्लातर्फ पनि सरेको वास्तविकतालाई स्वयम् अहिले बाजुरा जिल्लाका भनेर दावी गरिएको सीमा क्षे गुम्बाका खाम्पा अगुवाहरुलाई सोध्दा पनि प्रमाणीत हुन्छ । बिस्तारै हिमालको जडिबुटी हिमाली वासिन्दाहरुका लागि एक नयाँ आयस्रोत भन्न गयो ।
रानिखर्क र भोटे खाम्पा जनजाति बिचको सम्बन्ध
‘वर्षा यारी ठाडो ढुंगा, हिउँद अछाम साफे’ भन्ने स्थानहरु बीच आफ्नो गन्तब्य स्थान बनाई भ्रमणशील जिबन पद्धति अगालेको एउटा भोटे जनजाति समुह, जुन, उत्तरको जडान छेत्रमा रहँदा ‘हुम्ली खम्पा’ (ख्याम्पा) भनी चिनिने र दक्षिणको खसान छेत्रमा रहदा ‘दंगाली खम्पा’ भनी चिनिने, हालको बाजुरामा स्थाई बसोबास गर्ने ‘भोटे खम्पा’ भोटे जनजाति बारे स्विजरल्याण्डका मानवशास्त्रि हाना राउवरसँग अध्ययन गर्ने पहिलो व्यक्ति पनि मै हुँ । कवाडी खोलाको केहि मुहान मध्यको एक रानिखर्कको खोलाले चर्चेको उपत्यकामा पर्ने खर्क, जग्गा लगायत आवादी जग्गाहरु बजुरेलबासीहरुमा भर्खारै जडिबुटी र पर्यटन क्षेत्रको सम्भावना देखेर मात्र लोभ जागेको हो । संभावना देखेर मात्र उहाँहरुले ‘धर्तीमा स्वर्ग खसेको झैं’ मान्नु भएको हो ।
बाजुराको हिमाली गाउँपालिका वासिन्दाले उक्त क्षेत्रको भू–स्वामित्व माथि दाबी गर्न उनै पहिलेका हुम्ली अहिलेका बाजुरेली भोटे खाम्पाहरुको पुच्छर समात्नु परेको देखिन्छ । तर वास्तविकता ठिक त्यसको उल्टो छ । ती भोटे जनजातिहरुले रानिखर्क बारे अरु समुदायहरुसँग जेजत्ति खर्क वा चरिचारान सम्बन्धि मुद्धाहरु लडे र सम्झौताहरु गरे ती सबै मुद्दाहरु लड्दा हुम्ला जिल्ला अदालत हुँदै जुम्लाको उच्च अदालतसम्म पुग्नाले पनि हिजोको अवस्थामा ती भोटेहरु आफुलाई हुम्ली हौ भनि स्विकार्नु का साथै खर्क सम्बन्धि विवाद हुदाँ हुम्ला जिल्ला अदालत बाटै टुंग्याएकोले रानिखर्क तथ्यू ‘डिफ्याक्टो’मा र ‘कानूनि प्रमाण’ (दिज्युर) दुबैमा यो क्षेत्र हुम्ला जिल्लाकै अन्तर्गत पर्ने कुरा स्पष्ट । किनकि मान्छेको बसाईसराई त हुन सकछ । तर भुमिसराई भने अहिलेसम्म कतै भएको इतिहाँस छैन् र हुन्नपनि । भोटेहरुको चरन क्षेत्रलाई आधार मानेर हुम्लाको ठाउलाई भोटेसँगै बाजुरामा लाना खोज्नु कहिँ नभएको कुरा हो । के मानिसको बसाइ सराई भयो भन्दैमा जग्गाको पनि बसाई सराई हुन्छ त ? उभौली र उधौलीको शिलशिलामा तल माथि गर्दा उनीहरुको बाटोमा पर्ने हुम्ला–बाजुराको बिचमा पर्ने उक्त जग्गाहरु तल देखि माथि (फुल्सैना, गुम्बा, छिप्रा, लाम्पाटा) यिनीहरु अगाडी राणा शसान कालदेखि हुम्ला जिल्लाको मैला गाँउ पञ्चायत अन्तर्गत आवादी गरी तालुकदार मुखिया समेत कायम गरी सकेको ऐतिहाँसिक तथ्य हो । पछि २०५० सालताका नापी हुँदा मात्र यी ठाउँका जग्गाहरु बाजुरा अन्तर्गत नापेको देखिन्छ । त्यसमा पनि राया गाविसले त तत्काल छलफल नहुञ्जेल नापी नगर्नु भनि पत्राचार समेत गरिसकेको कुरालाई बाजुराको नापी कार्यालयले कसरी जानकारी गराएको छ ? त्यो सरकारले गठन गरेको समितिले थप अध्ययन गर्ने नैं छ । जहाँसम्म रानिखर्कको सवाल छ, यो घुमन्ते भोटेहरु र हुम्लीहरु बीच शुरुमा धुरी दर्ताको रुपमा दाबि गर्दै मुद्दा लड़दा घुमन्ते भोटेहरुको प्रतिनिधि, मुखिया काल्जांग गुरुङ (भोटे) को पनि ठेगाना हुम्लाको मुचु गाउँ पञ्चायत अन्तर्गतको वडा नम्बर ३ हालेको तथ्यले पनि हाल बाजुरामा स्थाई रुपमा बसोबास गरि रहेका सबै भोटे जनजातिहरुको पहिचान र सामिप्यता हुम्लाको माथिल्लो भोटे बस्तिहरुसँग रहेको देखिन्छ । यो वास्तविकताले पनि हालका बजुरेल हौ भन्ने भोटेहरु उत्तिखेर हुम्ली भएका थिए भन्ने कुरा स्पष्ट हुन आउँछ ।
यसका अलावा हुम्लाका अन्य विभिन्न गाउँका उपभोक्ताहरुको पनि तत्थ्यगत र कानूनि रुपमा भन्नु पर्दा रानिखार्कको नदीले चर्चेको उपत्यकाको विभिन्न ठाउँहरुमा तल औलादेखी माथि डाँडासम्म आ–आफ्ना गाउँका परापुर्व कालदेखि भोकचलन गर्दै आएको खर्क, ढुंगाले लगाएको खोरहरु र स्वमित्व सम्बन्धि विभिन्न समयम भएका विवाद पश्चात हुम्ला जिल्ला अदालत लगायतका न्यायिक निकायहरुबाट भएका फैसलाहरुले पनि यो भू–भाग हुम्लीहरुको भाकचलन गरेको क्षेत्र हो भन्ने प्रमाण्ीत हुन्छ । जस्तैः चाला , खगालगाँउ ,राया, थालि, रिप, उनपानी, ताँजाकोट आदि गाउँहरु बीचका फैसला अहिले पनि हुम्लाका नागरिकसँग अहिलेपनि उक्त प्रमाण सुरक्षित छन् ।
वास्तविक इतिहाँस यस्तो भएपनि पछी आएर सबै समुदाय बीच समजदारी कायम गरेर आ–आफ्नो ठाउँहरुमा खर्कको रुपमा भोग चलन गर्दै शान्त ढङ्गले चरिचरन गरी बसेकै थिए । हाल आएर रानकखर्क क्षेत्रमा जडिबुटी निस्कदा र त्यसमा थप पर्यटकीय छेत्रको संभावना बढ्दै जाँदा केहि युटुवरहरुको भड्काउँमा लाग्दा र हिमाली गाउँपालिकाले समेत आँखा गाड्दा परिस्थिती असामान्य बनेको हो । अन्यथा त्यो भन्दा अगाडी भू–विकटताले गर्दा भोटे जनजातीहरु बाहेक त्यो उपत्यकामा बाजुराको हिमाली गाउँपालिकाको अन्य जातिहरु कसैको पहँुच हुन्नथ्यो । उहाँहरुलाई पहँुचको आवश्यकता पनि थिएन । किनकि बाजुराको हिमाली गाउँपालिकाका वान्दिाको चरिचारान र जडिबुटीको निम्ति त साइपाल हिमालको दक्षिण मोहडाबाट बग्ने नदीहरुले चर्चेका थुप्रै अन्य उपत्यकाहरु, जस्तैः छुम्दो खोला, बौरी खोला, बिच्छ्या खोला, नाति खोला आदि बाजुराका मातहतमा छँदैछन् ।
अर्को कुरा अझै रानीखर्कलाई तस्करीको ट्रान्जिट प्वाइन्ट नामांकरण गर्दै त्यहाँबाट चिनतर्फ जडिबुटी तस्करी भैरहेको गलत हवाला पनि दिने गरिएको छ । त्यो भन्नु भनेको आफूलाई त्यहाँको जसलाई भुगोलाई राम्ररी थाहा छैन् भन्ने प्रष्ट हुन्छ । सूचनाकै अभाव भए खोज्ने अध्ययन गर्ने हो । तर हचुवाको ढङ्गबाट कमजोर र मित्थ्य सूचना संप्रेषण गरेर कसैले पनि अर्काको मानहानी गर्नु राम्रो होइन ।
रानीखर्क भन्दा माथि तस्करी हिड्ने खाली पाटन मात्र छैन् । ठाउँठाउँमा प्रहरी पोस्टहरु छन् । त्यहाँ बटा गयो भने शुरुमा नाम्खा गाउँपालिकाको मुचु चेकपोस्ट आउँछ । त्यसपछि यारीको प्रहरी चेकपोस्ट आउँछ । त्यहाँबाट गएपछि हिल्साको नेपाली सीमा सुरक्षा पोष्ट छ । त्यहाँबाट पारी पट्टी चीनको सिमा सुरक्स्या निकायहरु पनि छ । त्यस्तो सुरक्षा घेरामा कसरी तस्करीको ट्रान्जिट प्वाइन्ट त्यो रुट बनेको छ ? भन्नेले आफै जानोस् । रानीखर्क देखि माथि खाली तस्करी मात्र हिड्ने खुल्ला पाटन मात्र छ भन्ने भ्रम र त्यो क्षेत्रमा अहोरात्र खटेका सरक्षा पोष्ट र दवै देशका सुरक्षा निकायप्रति गम्भीर आरोप पनि हो । जसले कालन्तरमा गर्ने असरका बारेमा ख्याल राख्नै पर्छ ।
विवाद छ, भने बाजुरा जिल्लाको र हुम्ला जिल्लाको थोरै वस्तिहरु बीच होला । त्यो कुरा त सम्बन्धित क्षेत्रका वासिन्दाहरु बीच एक आपसमा बसेर छलफल गरेर सौहार्दपूर्ण ढंगले समाधान गर्न सकिन्छ । किन यसलाई जिल्ला र प्रदेशकै विवादको विषय बनाएको होला ? किन असम्बन्धित र सरोकारै नभएको कर्णाली कोरिडोर थुन्ने काम गरेको होला ? सीमाको विषयका सडकमा हिड्नेहरुको के दोष होला र ? यसमा सबैले सम्यमता गुमाउन हुन्न भन्ने लाग्छ ।
कुनैपनि स्थानमा एक दुई चोटी पुग्दैमा सर्वथोक जान्ने हुन सकिदैन् । थोरै जानकारीले संप्रेषण गरेको मित्थ्य सूचानाले शान्त भएको ठाउँका सर्वसाधारण जनतालाई उचाल्ने, उकास्ने काम कसैबाट पनि हुनु राम्रो होइन् । तैपनि भएका दुःखत घटनाको छानीव गर्न र सीमानाको विवादको अध्ययन गर्न सरकारले दुई बेग्लाबेग्लै समिति गठन गरेको छ । त्यसले वास्तविकतामा आधारित प्रतिवेदन ल्याउने नैं छ । तर बीचमा सस्तो र क्षणीक लोकप्रीयता कमाउने नाममा दुई जिल्लाका मन भाँच्चे, चुल्हा छुट्याउने काम कोही कसैबाट हुनु राम्रो होइन्, चेतना भया ।
