हुम्ला । चङ्खेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २९ लाख २० हजार १९० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र पिप्लाङ्गमा बुधबार सम्पन्न १६औँ गाउँसभाबाट उक्त बजेट ल्याएको हो ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ २३ करोड ९० लाख २७ हजार १ सय १० रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३८ लाख ९३ हजार ८० रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सरसफाइ, विपद् व्यवस्थापन, पर्यटन प्रवर्द्धन, युवा तथा महिला सशक्तीकरण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकाको समग्र विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले कृषि उत्पादन र स्वरोजगारलाई प्रोत्साहन गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने, अधुरा योजनालाई सम्पन्न गर्ने तथा नागरिकमैत्री शासन प्रणालीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष प्रेमकला शाहीले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण र संस्थागत विकासलाई सन्तुलित रूपमा समेट्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।
गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले कृषिलाई उत्पादनसँग जोड्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, ग्रामीण सडक सञ्जालको स्तरोन्नति गर्ने तथा समावेशी र दिगो विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । साथै सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने कार्यक्रमहरू समेत समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
१६औँ गाउँसभामा गाउँसभा सदस्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सभाले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको हो ।
चङ्खेली गाउँपालिकाले उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, पूर्वाधार विकासको विस्तार तथा गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर ल्याएको बजेटले आगामी आर्थिक वर्षमा गाउँपालिकाको विकास यात्रालाई थप गति दिने अपेक्षा गरिएको छ।
गाउँसभामा नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफलका क्रममा सदस्यहरूले विभिन्न सुझाव तथा धारणा राखेका थिए । सो क्रममा वडा नम्बर ४ का वडा अध्यक्ष पदमबहादुर शाही र गाउँसभा सदस्य कुलप्रसाद जैसीले बजेट तथा कार्यक्रमका केही विषयप्रति असहमति जनाउनुभएको थियो । उहाँहरूले बजेट विनियोजन र योजनाको प्राथमिकताका विषयमा आफ्नो फरक धारणा राख्दै पुनर्विचार गर्न सुझाव दिनुभएको थियो ।
यद्यपि बहुमत गाउँसभा सदस्यहरूको समर्थनपछि आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।
