हुम्लाको अदानचुली गाउँपालिका–२ मा सञ्चालन हुँदै आएको विद्युत सेवा आजदेखि अवरुद्ध भएको छ। गएको पुस महिनादेखि अस्थायी रूपमा सेवा दिँदै आएको कुकुरफाल्ना लघु जलविद्युत आयोजनाको विद्युत महसुल संकलन हुन नसकेपछि सेवा बन्द गरिएको हो।
आयोजनाका अपरेटर दन्तराज शाहीका अनुसार अदानचुली गाउँपालिका–२ का जनप्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको उपस्थितिमा बसेको बैठकले गाउँमा थ्रीफेज विद्युत लाइन विस्तार नभएसम्म विद्युत महसुल नउठाउने निर्णय गरेपछि आयोजना सेवा बन्द गर्न बाध्य भएको हो।
शाहीका अनुसार हाल उक्त वडामा जेनेरेटरमार्फत अस्थायी रूपमा विद्युत सेवा उपलब्ध गराइँदै आएको थियो। तर सञ्चालन खर्च व्यवस्थापनका लागि आवश्यक महसुल नै संकलन हुन नसक्ने अवस्था सिर्जना भएपछि आजदेखि विद्युत लाइन काटिएको हो।
उहाँले थ्रीफेज विद्युत लाइन विस्तारका लागि आवश्यक स्रोतसाधनको अभाव रहेको बताउँदै तत्काल लाइन विस्तार गर्न नसकिने स्पष्ट पार्नुभयो। स्थानीयले थ्रीफेज लाइन विस्तारको माग राखे पनि आवश्यक बजेट तथा स्रोत सुनिश्चित नभएसम्म उक्त काम अघि बढाउन कठिन रहेको उहाँको भनाइ छ।
विद्युत सेवा बन्द भएसँगै अदानचुली–२ का स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ। साँझबिहानको घरायसी काम, विद्यार्थीको अध्ययन तथा साना व्यवसायसमेत प्रभावित भएका छन्।
स्थानीयवासीले विद्युत सेवा नियमित सञ्चालनका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने माग गरेका छन्। यता आयोजना पक्षले भने विद्युत सेवा पुनः सञ्चालन गर्न स्थानीय तह, जनप्रतिनिधि र उपभोक्ताबीच सहमति भई विद्युत महसुल संकलनको सुनिश्चितता हुनुपर्ने जनाएको छ।
