सर्केगाड गाउँपालिका–३ स्थित गुसा लेखमा रहेको नेपाल टेलिकमको फोरजी (द्धन्) टावर १० दिनपछि पुनः सञ्चालनमा आएको छ । जङ्गली जनावरले अप्टिकल फाइबरसँग जोडिएको आरबीबीयू केबलमा क्षति पुर्याएपछि अवरुद्ध भएको सञ्चार सेवा मर्मत सम्पन्न भएसँगै पुनः सुचारु भएको हो । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सिमकोटका प्राविधिक ओबजन शाहीका अनुसार लगातार तीन दिनसम्म गरिएको मर्मत कार्यपछि बुधबारदेखि टावर पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
उहाँले केबलमा समस्या आएको जानकारी प्रारम्भिक चरणमै भए पनि आवश्यक नयाँ केबल सुर्खेतबाट हुम्ला ल्याउन समय लागेका कारण सेवा पुनः सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । दुर्गम भूगोल र सामग्री ढुवानीको कठिनाइका कारण नयाँ केबल टावरसम्म आइपुग्न करिब १० दिन लागेको थियो । गुसा लेखको फोरजी टावर बन्द हुँदा सर्केगाड गाउँपालिका, अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका तथा मुगु जिल्लाको सोरु गाउँपालिकाका धेरै बस्तीमा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको थियो । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयले फोन सम्पर्क, इन्टरनेट प्रयोग, अनलाइन बैंकिङ, शैक्षिक गतिविधि तथा सरकारी सेवा लिन समेत कठिनाइ भोग्नुपरेको थियो ।
टावर पुनः सञ्चालनमा आएपछि चार स्थानीय तहका हजारौँ नागरिक पुनः मोबाइल र इन्टरनेट सेवामा जोडिएका छन् । सेवा सुचारु भएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् भने लामो समयपछि नियमित रूपमा फोन तथा इन्टरनेट प्रयोग गर्न पाएको बताएका छन् । दुर्गम हिमाली क्षेत्रमा सञ्चार पूर्वाधारमा सामान्य क्षति हुँदा समेत सेवा पुनःस्थापनामा समय लाग्ने अवस्था देखिएकाले यस्ता महत्वपूर्ण संरचनाको सुरक्षा र नियमित मर्मत व्यवस्थापनमा सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ ।
