हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना सम्पर्कविहीन भएका छन् । रसुवाको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार बिहान भोटेकोसी नदीमा आएको भीषण बाढीपछि हुम्लाका ८ पुरुष र २ महिला गरी १० जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्दविर शाहीले बताउनु भयो ।
उहाँका अनुसार हामीलाई आएको जानकारी अनुसार हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए । बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो । प्रशासनका अनुसार खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३० का जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन रहेका छन् । उमेश बोहोराको श्रीमती र छोराको नाम भने नाम खुल्न सकेको छैन ।
त्यस्तै, ताजाकोट गाउँपालिका–२ स्थायी घर भएका वर्ष ४१ नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन भएका छन् । शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत रहेको प्रशासनले जनाएको छ । ताँजाकोटका शर्मा रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतको रुपमा त्यहाँ सरुवा भएर गएका थिए । शर्मा मंङ्गलवार रसुवा भन्सारमा पुगेर हाजिर भएका थिए ।
सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हामी सुरक्षित छौँ’ भन्ने आशयको पोस्ट गरेका थिए । त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको बताउनु भयो ।
रसुवाको टिमुरे, रसुवागढी तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन हुम्लावासीको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले सार्वजनिक गरेको विवरण अनुसार सम्पर्कविहीन हुनेमा ८ जना पुरुष र २ जना महिला गरी जम्मा १० जना छन् । उनीहरू सबैको अवस्था यकिन गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
खोजि कार्यका लागि प्रदेश सरकारले पहल थाल्यो
प्रदेश सरकाररसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट कर्णाली प्रदेशका नागरिकको खोजि कार्यका लागि जुट्ने कर्णाली प्रदेश सरकारले जनाएको छ । बाढीपछि केही कर्णालीवासी सम्पर्कविहीन भएको जानकारी प्राप्त भएसँगै उनीहरूको खोज तथा उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गर्न शुरु गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार अपिलमार्फत सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको बताउनु भयो ।
बाढीबाट कर्णालीका नागरिकसमेत प्रभावित भएको घटनाप्रति प्रदेश सरकार गम्भीर र दुःखी रहेको शाहीले बताउदै सम्पर्कविहीन कर्णालीवासीको अवस्था यकिन गरी तत्काल उद्धार गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न संघ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गरेका छन् उनले प्रभावितलाई तत्काल स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित आवास, स्वच्छ खानेपानीलगायत अत्यावश्यक सेवा उपलब्ध गराउने बताउनु भयो ।
कर्णाली प्रदेश सरकार विपद्बाट प्रभावित नागरिकको राहत तथा मानवीय सहायताका लागि संघ तथा अन्य प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री शाहीले निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजलाई समेत प्रभावितको उद्धार तथा राहतमा सहकार्य गर्न उनले आग्रह गर्नु भयो ।
भोटेकोशी बाढीबाट प्रभावित कर्णालीवासीको संख्या, उनीहरूको अवस्था र सम्पर्कविहीन हुनुको कारणबारे भने प्रदेश सरकारले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन । प्रदेश सरकारले सम्बन्धित निकायसँगको समन्वयबाट उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रक्रिया अघि बढाएको छ ।–––कालीबहादुर थापा
