जिल्ला सदरमुकाम सिमकोटका तीन वडा सञ्चारविहीन, नयाँ टावर निर्माणको माग


जिल्ला सदरमुकाम सिमकोटमै रहेका वडा नं. १, २ र ३ का बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित भएपछि स्थानीयले नयाँ मोबाइल टावर निर्माणको माग गरेका छन् । साविक ठेहे गाविस क्षेत्रका युवाहरूले सोमबार नेपाल टेलिकम, दूरसञ्चार कार्यालय सिमकोटमा ज्ञापनपत्र बुझाउँदै नयाँ टावर निर्माण गर्न माग गरेको स्थानीय युवा सर्जन भण्डारीले बताउनु भयो । यदी नयाँ टावर निर्माणको प्रकृया अगाडि नबढे आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।

यता सिमकोट गाउँपालिका–२ को कार्यालयले नेपाल टेलिकमलाई वडा नं. १, २ र ३ अन्तर्गत पर्ने ठेहे टोल बस्तीमा रहेको टेलिकमको टावरले काम नगर्दा स्थानीय सञ्चार सेवाबाट प्रभावित भएको वडा अध्यक्ष देबजंग बोहोराले बताउनु भयो । टावरले काम नगरेपछि स्थानीय बासिन्दालाई सूचना तथा सञ्चारको पहुँच र्पुयाउन नयाँ टावर निर्माणका लागि आवश्यक सहयोग गर्न टेलिकमसँग आग्रह गरिएको बताउनु भयो ।

त्यस्तै, सिमकोट गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरण सिमकोटलाई वडा नं. ३ बरगाउँको देउसल्लीमा रहेको नेपाल टेलिकमको टावरले सिमकोट गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयलाई सूचना तथा सञ्चार सुविधा उपलब्ध गराउन नसकेको उल्लेख गर्दै नयाँ फोरजी टावर उपलब्ध गराउन सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताउनु भयो ।

स्थानीयका अनुसार सिमकोट गाउँपालिकाका यी वडा सदरमुकामकै आसपासमा रहे पनि मोबाइल फोन र इन्टरनेट सेवा प्रभावकारी नहुँदा दैनिक कामकाजदेखि शिक्षा, स्वास्थ्य, सरकारी सेवा तथा आपत्कालीन सम्पर्कसम्म समस्या हुने गरेको छ । विशेषगरी डिजिटल सेवाको प्रयोग बढिरहेको अवस्थामा सदरमुकाममै सञ्चार सेवाको पहुँच कमजोर हुनु विडम्बनापूर्ण भएको स्थानीयको भनाइ छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     २२ भाद्र २०८३, सोमबार १८:१५  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *