हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १४ वर्षीय प्रशान्त रावलको शव २० दिनपछि फेला परेको छ ।
गत भदौ ४ गते दिउँसो करिब २ बजे कर्णाली नदीमा पौडी खेल्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ सुनखाडाका रामचन्द्र रावलका छोरा प्रशान्त रावल र सोही गाउँकी विर्ख शाहीकी छोरी अन्दाजी १३।१४ वर्षीया अनु शाही बेपत्ता भएका थिए ।
बेपत्ता भएका प्रशान्तको शव भदौ २४ गते दिउँसो करिब २ बजे सर्केगार्ड गाउँपालिका–२ रिपस्थित कर्णाली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताउनु भयो । उहाँका अनुसार प्रहरी र स्थानीयवासीको सहयोगमा नदीबाट शव बाहिर निकालिएको छ ।
शव खार्पुनाथ गाउँपालिका–१ का प्रशान्त रावलको भएको उनका बुवा रामचन्द्र रावलले सनाखत गरेको बताउनु भयो । उहाँले दिएको जानकारी अनुसार शव बेपत्ता भएको स्थानबाट करिब दुई किलोमिटर तल नदी किनारमा फेला परेको हो । सोही घटनामा बेपत्ता भएकी अनु शाहीको भने खोजी कार्य जारी रहेको बताउनु भयो ।–––कालीबहादुर थापा
