भोटेकोशी बाढीपीडितलाई नाम्खा गाउँपालिकाले पनि आर्थिक सहयोग गर्ने ।


यहि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकको खोजी, उद्धार र राहतका लागि हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, गोरखा र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको तथा हुम्लाका नागरिकसमेत प्रभावित भएको भन्दै विपद्धको दुःखद् घडीमा सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनु भयो ।

उहाँका अनुसार नाम्खा गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री तथा दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र जनप्रतिनिधिहरूले समेत आफ्नो सेवा–सुविधाबाट सहयोग गर्ने निर्णय गरेको बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले १० दिन बराबरको सेवा सुविधा, वडाध्यक्षले १० दिन, कार्यपालिका सदस्यहरूले ७ दिन तथा वडा सदस्यहरूले ५ दिन बराबरको सेवा सुविधा सहयोग गर्ने र राष्ट्रसेवक कर्मचारीबाट भने नेपाल सरकारको निर्णयअनुसार सहयोग गरिने बताउनु भयो ।

हुम्लाका ७ गाउँपालिका मध्ये चंखेली र नाम्खा गाउँपालिकाले सहयोग गर्ने निर्णय गरीसकेका छन् भने अन्य पाँच गाउँपालिकाले भने अहिले सम्म निर्णय नगरेको पाइएको छ ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     २४ भाद्र २०८३, बुधबार १९:५३  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *