नेपाल–चीन सीमा व्यवस्थापन, सुरक्षा तथा सीमावर्ती क्षेत्रका साझा विषयमा छलफल गर्न हुम्ला र बझाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको टोली चीनको पुलान काउन्टीमा पुगेको छ । चिनियाँ सरकारको निमन्त्रणामा सेप्टेम्बर १४ देखि १७ तारिखसम्म सञ्चालन हुने सीमा वार्तामा सहभागि हुँन टोली त्यहाँ पुगेको हुम्ला जिल्लाका सहायक जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो ।
उहाँका अनुसार चार दिनसम्म चल्ने वार्तामा भन्सार, अध्यागमन, सीमा सुरक्षा तथा सीमासँग सम्बन्धित विभिन्न विषयमा दुई पक्षबीच छलफल हुने बताउनु भयो । बाढीपहिरोका कारण दार्चुलाको टोली भने वार्तामा सहभागी हुन नसकेको बताउँदै हुम्लाबाट प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नन्दबहादुर साउद तथा चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा सहभागी हुनुभएको छ ।
त्यस्तै, बझाङबाट प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोरा, चीनसँग सीमा जोडिएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोरा तथा सशस्त्र प्रहरी बलका प्रमुख उज्जल लामीछाने लगायतको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले बताउनु भयो । उनिहरु असोज १ गते हुम्ला फर्किने भएका छन् ।
नाम्खा–पुलानबीच भगिनी सम्बन्धको ऐतिहासिक पहल
यसै सीमा वार्ताको अवसर पारेर हुम्लाको नाम्खा गाउँपालिका र चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत आली प्रिफेक्चरको पुलान काउन्टी बीच भगिनी–नगर सम्बन्ध स्थापना गर्ने आशयपत्र ९ीभततभच या क्ष्लतभलत० मा हस्ताक्षर भएको छ ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले आशयपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई छिमेकी क्षेत्रबीच आपसी मित्रता, सद्भाव, सांस्कृतिक आदान–प्रदान तथा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आशयपत्रमा हस्ताक्षर गरिएको अध्यक्ष लामाले बताउनु भयो ।
समझदारीले कृषि, पशुपालन, पर्यटन, संस्कृति तथा अन्य साझा हितका क्षेत्रमा सहकार्यका नयाँ सम्भावनाहरू खोल्ने अपेक्षा गरिएको बताउँदै अध्यक्ष लामाले नाम्खा गाउँपालिका र पुलान काउन्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सीमावर्ती क्षेत्रको विकास, समृद्धि तथा जनस्तरको सम्बन्ध विस्तार गर्न यस सहकार्यले महत्वपूर्ण योगदान र्पुयाउने बताउनु भयो ।
नेपाल–चीन सीमा वार्ताका क्रममा भएको यो पहलले सीमावर्ती दुई क्षेत्रबीचको स्थानीय तह स्तरीय सम्बन्धलाई संस्थागत गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक सहकार्य विस्तार गर्ने नयाँ आधार तयार गरेको बताउनु भयो ।–––कालीबहादुर थापा
