हुम्लामा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक जनाको मृत्यु, दुई जना अझै सम्पर्कविहीन ।।


हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी ‘कटुको’ संकलन गर्न पुगेका मुगुका स्थानीयमध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन रहेका छन् ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट जडीबुटी संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले बताउनु भयो ।

उहाँका अनुसार भदौ २८ गते मुगुम कार्मारोङ गाउँबाट १३ जना स्थानीय जडीबुटी संकलनका लागि हुम्लाका विभिन्न सामुदायिक वनतर्फ गएको जानकारी प्रशासनमा आएको थियो । तीमध्ये एक जनाको मृत्यु भएको, दुई जना सम्पर्कविहीन रहेको,३ जना घर पुगि सकेको र बाँकी ७ जना मिमि प्रहरीचौकीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता जनकबहादुर सिंहले बताउनुभयो ।

घटनाको वास्तविक कारण भने अझै स्पष्ट भइसकेको छैन । घटनाबारे बुझ्न मिमि प्रहरीचौकीमा हुम्ला र मुगु दुवै पक्षका दुई–दुई जनालाई बोलाएर छलफल भइरहेको बताउनु भयो ।

मुगुका स्थानीयका अनुसार मुगु र हुम्लाको सीमावर्ती क्षेत्रमा रहेका कतिपय सामुदायिक वन दुवै जिल्लाका बासिन्दाले प्रयोग गर्दै आएका छन् सोही आधारमा आफूहरू आफ्नै क्षेत्रको सामुदायिक वनमा जडीबुटी संकलनका लागि गएको उनीहरूको भनाइ छ ।

तर, बागेढुंगा सामुदायिक वन र नेप्का सामुदायिक वनलगायतका क्षेत्रमा अनुमति बिना जडीबुटी संकलन भइरहेको भन्दै वनका पदाधिकारीले अनुगमन गरेका थिए । बागेढुंगा सामुदायिक वनका अध्यक्ष रंगबहादुर शाही सहितको टोली अनुगमनमा पुगेपछि जडीबुटी संकलन गरिरहेका व्यक्तिहरू भागेको बागेढुंगा सामुदायिक वनका अध्यक्ष रंगबहादुर शाहीले बताउनु भयो ।

उहाँका अनुसार खोजीका क्रममा एक जनालाई नियन्त्रणमा लिएपछि अन्य नौ जना पनि सम्पर्कमा आएका थिए । उनीहरूलाई साँझसँगै राखिएको र भोलिपल्ट गाउँतर्फ लैजाने क्रममा खोला तर्ने बेला दुई जना पुनः भागेको बताउनु भयो । भागेका अंख रोकाया र ललिजंग बडुवाल हालसम्म सम्पर्कमा नआएको अध्यक्ष शाहीले बताउनु भयो ।

यसअघि फरार भएका दुई जनामध्ये एक जनाको मुगुको लेख क्षेत्रमा मृत्यु भएको खबर आएको छ यद्यपि, उक्त मृत्यु र बागेढुंगा सामुदायिक वनमा भएको घटनाबीचको सम्बन्ध तथा मृत्युको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।
घटनापछि जडीबुटी संकलनको अनुमति, सीमावर्ती सामुदायिक वनको अधिकार क्षेत्र तथा संकलनका क्रममा भएको घटनाबारे दुवै जिल्लाका स्थानीय र सम्बन्धित निकायबीच छलफल भइरहेको छ ।

तर घटनास्थलमा भने कुनै झैझगडा नभएको र आफुहरु जाँदा अबैद्ध रुपमा संकलन गर्न आएकोहरु भागेको बताउनु भयो अध्याधिक वर्षाका कारण जडीबुटी नल्याएको तर अवैद्धरुपमा जडीवुटी संकलन गर्नेहरु भने आफुसँगै ल्याएको अध्यक्ष शाहीको भनाई छ । –––कालीबहादुर थापा

प्रकाशित मितिः     ११ आश्विन २०८३, आईतवार १८:०९  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *