गगन पक्षको अधिवेशन सकिँदा देउवा पक्षले हुम्लामा वडा अधिवेशन थाल्यो ।।


हुम्लामा नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत गगन थापा पक्षले वडा, गाउँपालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिसमेत छनोट गरिसकेको दिन देउवा पक्षले भने वडा अधिवेशन सुरु गरेको छ ।

गगन पक्षले असोज ४ गते जिल्लाका सबै वडामा एकैसाथ अधिवेशन सुरु गरी गाउँपालिका हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न गरेको थियो । सो पक्षले आजै महाधिवेशन प्रतिनिधिसमेत छनोट गरेको जनाएको छ ।

यता, देउवा पक्षले भने आजबाट मात्रै वडा अधिवेशन सुरु गरेको हो । जिल्ला संयोजक सूर्यबहादुर शाहीका अनुसार आज सर्केगाड गाउँपालिका–५ गोठीबाट वडा अधिवेशन सुरु गरिएको छ । उहाँले असोज २० गतेसम्म जिल्लाका सबै वडाको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।

हुम्लामा नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा पूर्वमुख्यमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको राजनीतिक धारलाई समेत महत्वपूर्ण रूपमा हेरिँदै आएको छ । शाही गगन थापा पक्षमा खुलेपछि जिल्लामा उक्त पक्षको प्रभाव बढेको कांग्रेस नेताहरू बताउँछन् ।

यता सभापति देउवा पक्षमा केन्द्रयीय सदस्य तथा पुर्व प्रतिनिधि सभा सदस्य रंगमति शाही, संविधान सभासदस्य रिता शाही लगायतका नेताहरु खुलेपनि जिल्लामा यतिबेला त्यति बलियो पकड देखीदैन ।

गगन पक्षले जिल्लाका सबै वडामा एकै दिन अधिवेशन सुरु गरे पनि देउवा पक्षले भने सबै वडामा एकैपटक अधिवेशन सुरु गर्न सकेन । वडा तहमा पार्टीभित्रको जनमत र संगठनात्मक अवस्थालाई मध्यनजर गर्दै क्रमशः अधिवेशन अघि बढाइएको देउवा पक्षका जिल्ला संयोजक शाहीले बताउनुभयो ।

यससँगै हुम्लामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीभित्रका दुई पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाएका छन् ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     १५ आश्विन २०८३, बिहीबार १८:४०  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *