ताँजाकोट आगलागी प्रकरणः दुई जना पुर्पक्षका लागि जेल चलान ।।


हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गत भदौ ७ गते राति ताँजाकोट गाउँपालिका–३ चाखुरेमा रहेको गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेका ताँजाकोट गाउँपालिका–४ गल्लाबाडाका कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पुर्वशाँखा प्रमुख धनराज ढकाललाई अदालतको आदेशपछि पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताउनु भयो ।

उहाँका अनुसार घटनाको अनुसन्धानका क्रममा दुवै जनाको आगलागीमा संलग्नता देखिएपछि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको थियो । अदालतको आदेशपछि उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

आगलागीबाट गाउँपालिकाको जिन्सी, लेखा तथा प्रशासन शाखामा क्षति पुगेको थियो। आगलागीका कारण आर्थिक वर्ष २०७३।०७४ देखि हालसम्मका लेखालगायत विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ ।

आगलागीको कारण र घटनासँग सम्बन्धित थप विषयमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको बताउनु भयो । –––कालीबहादुर थापा

प्रकाशित मितिः     १५ आश्विन २०८३, बिहीबार १८:३८  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *