हुम्लामा अविरल वर्षा र हिमपातका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वर्षा र हिमपातका कारण अवरुद्ध भएका सडकमा नजिकबाट उपलब्ध हुने मेसिन तथा उपकरण प्रयोग गरी पहिरो पन्छाउने, आवश्यक ठाउँमा ब्लास्टिङमार्फत ढुंगा हटाउने र यातायात तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन हिल्सा–सिमकोट सडक आयोजना कार्यालयलाई निर्देशन दिएको सहायक पमुख जिल्ला अधिकारी चन्द्रविर शाहीले बताउनु भयो । उहाँका अनुसार भदौको अन्तिम सातादेखि परेको वर्षापछि कर्णाली करिडोरको उत्तरखण्डअन्तर्गत हिल्सा–सिमकोट–सलिसल्ला सडक पटक–पटक अवरुद्ध हुँदै आएको भन्दै बैठकले सडक खुलाउने कार्यलाई तीव्रता दिन निर्देशन दिएको बताउनु भयो ।
यसअघि पनि सडक आयोजना कार्यालयले ब्लास्टिङ तथा मेसिन प्रयोग गरी सडक सञ्चालनमा ल्याएको भए पनि असोज ९ गतेपछि परेको अविरल वर्षाका कारण सडक पुनः अवरुद्ध भएको बैठकमा जानकारी गराइएको थियो । यस्तै, असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण जिल्लाका सबै पालिका केन्द्र तथा अन्य क्षेत्रमा जाने सडकमा पहिरो गई यातायात प्रभावित भएकाले प्रत्येक पालिकाले जनघनत्व र सडक प्रयोगको अवस्थालाई मध्यनजर गर्दै बढीमा एक वटा सडक मर्मत तथा सम्भारका लागि सिफारिस गर्नुपर्ने निर्णय भएको छ ।
पालिकाबाट प्राप्त सिफारिसका आधारमा क्षतिग्रस्त सडकको पहिरो पन्छाउने तथा मर्मत–सम्भार गर्ने व्यवस्था मिलाउन पूर्वाधार विकास कार्यालयलाई लेखी पठाउने निर्णय गरिएको छ । यस्तै विपद्का कारण पूर्णरूपमा क्षति भएका वा आंशिक क्षति भए पनि बसोबास गर्न योग्य नरहेका निजी आवासका परिवारलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउन प्रक्रिया अघि बढाउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिबाट स्वीकृत गरी तोकिएको समयभित्र जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशको सम्बन्धित मन्त्रालयमा सिफारिस पठाउन पालिकालाई भनिएको छ ।
त्यस्तै, विपद्का कारण कुनै बस्ती जोखिममा परी स्थानान्तरण गर्नुपर्ने अवस्था भए प्राविधिक अध्ययन गरी उपयुक्त स्थानको विकल्पसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस पठाउन पनि स्थानीय तहलाई निर्देशन दिइएको छ ।
बैठकले जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३।०८४ समेत स्वीकृत गरेको छ । सम्बन्धित सरोकारवाला निकायबाट प्राप्त पछिल्लो विवरण समेटेर तयार पारिएको योजनालाई समितिले स्वीकृत गरेको हो । प्राकृतिक तथा मानवीय विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ९म्भ्इऋ० र स्थानीय तहमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र ९ीभ्इऋ० बीच कम्तीमा प्रत्येक त्रैमासिक रुपमा एकपटक बैठक बस्ने व्यवस्था मिलाउने निर्णयसमेत गरिएको बताउनु भयो ।
यसैगरी, जिल्लामा आइपर्ने विभिन्न विपद्को जोखिम न्यूनीकरण, खोज तथा उद्धार र क्षतिको प्रारम्भिक विवरण संकलनमा सहयोग र्पुयाउन बढीमा तीन लाख रुपैयाँसम्मको ड्रोन खरिद गरी जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ९म्भ्इऋ० लाई हस्तान्तरण गर्न पूर्वाधार विकास कार्यालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ । बैठकमा नेपाली काँग्रेश कर्णाली प्रदेश संसदिय दलका नेता तथा पुर्वमुख्यमन्त्री जिवनबहादुर शाही लगायत जिल्ला स्थीत उपलब्ध सबै स्थानीय तहका प्रमुखहरुको उपस्थिती रहेको बताउनु भयो । ।–––कालीबहादुर थापा
