हुम्लामा महिना दिन सम्मपनि विद्युत्त संकट कायमैः बजार क्षेत्रमा दिनमा दुई घण्टा मात्रै बत्ती, भोलि परीक्षण गरिने ।


हुम्लामा विद्युत सेवा अवरुद्ध भएको महिना दिनपछि पनि विद्युत संकट कायमै रहेको छ । जिल्ला सदरमुकाम सिमकोटको बजार क्षेत्रमा अहिले दिनमा करिब दुई घण्टा मात्रै विद्युत आपूर्ति भइरहेको छ भने पूर्णरूपमा सेवा सञ्चालनका लागि परीक्षणको तयारी भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणको हिल्दुम वितरण केन्द्र अन्तर्गतको पावर हाउसमा रहेको युनिट–९ को गभर्नर कन्ट्रोलमा समस्या आएपछि भदौ १६ गतेदेखि विद्युत सेवा प्रभावित भएको थियो । समस्या समाधानका लागि काठमाडौंबाट इन्जिनियर हिजो मात्रै हुम्ला पुगेको सुचना अधिकारी कृष्णबहादुर वलीले बताउनु भयो ।

हिल्दुम वितरण केन्द्रका सूचना अधिकारी वलीका अनुसार सम्भवतः भोलि दिउँसो १२ बजेपछि विद्युत प्रणालीको परीक्षण गरिनेछ । पिएल्सी बोर्ड र गभर्नर नयाँ ल्याएर जडान गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । परीक्षण सफल भए विद्युत सेवा नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी छ ।

करिब एक महिना सम्म विद्युत सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसायी तथा सर्वसाधारण प्रभावित भएका छन् । केही सरकारी कार्यालयमा सोलार प्रणाली भएकाले वैकल्पिक रूपमा काम सञ्चालन भइरहे पनि सर्वसाधारण, विद्यार्थी र कोठाभाडामा बस्दै आएका नागरिक बढी प्रभावित भएका छन् ।

विद्युत नहुँदा मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, अध्ययन गर्न तथा विद्युतीय उपकरण सञ्चालन गर्न समस्या भएको स्थानीयको भनाइ छ । सदरमुकाममै लामो समय विद्युत अवरुद्ध भएपछि रातको समयमा बत्ती बाल्नसमेत समस्या भएको छ ।

विद्युत अवरोधका कारण हालैको अविरल वर्षाले पुर्याएको क्षतिको विवरण संकलनमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो । उहाँका अनुसार सदरमुकाममै विद्युत सेवा अवरुद्ध हुँदा कार्यालयको काम प्रभावित हुनुका साथै राति क्यान्डिल बालेर बस्नुपर्ने अवस्था आएको छ ।

विद्युत सेवा लामो समयसम्म नियमित हुन नसक्दा हुम्लाको जनजीवन, सरकारी सेवा प्रवाहदेखि सञ्चार र व्यवसायसम्म प्रभावित भएको छ । स्थानीयले तत्काल विद्युत सेवा नियमित गर्न र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।–––कालीबहादुर थापा

प्रकाशित मितिः     १४ आश्विन २०८३, बुधबार २०:००  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *